काठमाडौं- गण्डकी प्रदेश सभा सदस्य राजिव गुरुङ्ग (दिपक मनाङे)ले अति नै भएर आफू एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङ्गमाथि हातपात गर्न बाध्य भएको बताएका छन्।
सांसद मनाङेले सोमबार पोखरामा पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री कप प्रतियोगितामा एन्फाले पठाएको पैसा समेत खाएको र खेल हुनुभन्दा अघिल्लो दिन खेलाडीहरुको बन्दोबस्त एन्फाले गर्नुपर्नेमा केही पनि व्यवस्था नगरिएको आरोप लगाए।
उनले मुख्यमन्त्री कपको समेत बदनाम भएको बताए। मुख्यमन्त्री कप भइसकेपछि मुख्यमन्त्रीले झापड हान्नुपर्नेमा आफुले झापड हानेको बताउँदै ठगलाई झापड नहानेर के माला लगाइदिने त भन्दै प्रतिप्रश्न समेत गरे। उनले एन्फा कास्की अध्यक्ष मिलनविरुद्ध ५० औं मुद्दा परेको तर यसको बारेमा कसैले पनि आवाज उठाउन नसकेको बताए।
सांसद मनाङेले ट्राइसेटमा समेत विभेद भएको बताए। ट्राइसेट बनाउँदा सबै जिल्लाका अध्यक्षबीच परामर्श गरेरमात्र ट्राइसेट निकाल्नुपर्ने एन्फाको नियम भएपनि राम्रा टोलीलाई एकातिर र कमजोर टोलीलाई अर्कोतिर पारेर विभेद गरेको बताउँदै उनले ट्राइसेट फिक्सिङ्ग गरेको भन्दै आक्रोशसमेत व्यक्त गरे।
सो स्थितीमा आफूले एन्फा अध्यक्ष कर्मा छिरिङ्ग शेर्पालाई समेत झापड हान्न सक्ने बताउँदै तर त्यो रिस आज मरिसकेको बताए। सांसद मनाङेले मुख्यमन्त्री कप प्रतियोगितामा मनाङबाट सहभागिता जनाएका खेलाडीलाई खान बस्न र अभ्यास गर्न ग्राउण्डको समेत व्यवस्था नमिलाएको भन्दै आइतबार लेखनाथको भण्डारढिक खेलमैदानमै एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङ्गलाई झापड हानेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।