राजविराज- मुस्लिम समुदायको धार्मिक प्रवचन (आल्मी तब्लीगी इज्तिमा) फागुन ३, ४ र ५ गते सप्तरीमा हुने निश्चित भएको छ।
सप्तरीको वोदेवरसाइन नगरपालिका–५, जाँजरमा तीन दिने कार्यक्रम आयोजना गरिएको इज्तिमा व्यवस्थापन समितिका अध्यक्ष मो. गफुरले बताए। अन्तर्राष्ट्रिय स्तरको र हजारौंको संख्यामा कार्यक्रम आयोजना हुन लागेको जानकारीपछि सुरक्षाको गाम्भिर्यतालाई मध्यनजर गर्दै केही समय अघि सो कार्यक्रममा रोक लगाइएको थियो।
प्रशासनले कार्यक्रम स्थगित गराएपछि मुस्लिम आयोगको पहलमा गृहमन्त्रालय मार्फत पुनः कार्यक्रमको अनुमति लिइएको छ। तर, कार्यक्रम अन्तर्राष्ट्रिय नभई राष्ट्रिय स्तरको हुने जनाइएको छ।
गृहमन्त्रालयले माघ ६ गते जिल्ला प्रशासन कार्यालय सप्तरीलाई पत्राचार गरी उक्त कार्यक्रम मुस्लिम आयोगको समन्वय, निगरानी र सुपरिवेक्षणमा संचालन हुने र अन्य कुनै गैरकानुनी गतिविधि नहुने भएकोले कार्यक्रम सम्पन्न गर्नका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाउन अनुरोध गरेको छ।
मन्त्रालयको पत्रमा भारतीय सीमाका वरिपरि रहेका छिमेकी बस्तिहरुका केहि संख्यामा भारतीय मुसलमान तथा दिल्लीबाट वरिष्ठ धर्मगुरु हजरत मौलाना साद साहवसहित ५० हजारको संख्यामा नागरिकहरु जम्मा हुने जनाइएको छ।
इज्तिमाका लागि तयारी तीव्र पारिएको छ। कार्यक्रमका लागि करिब २ सय बिगहा जग्गा तयार गरिएको र टहरा निर्माण कार्य भइरहेको स्थानीयले बताए।
सप्तरीका सिडिओ सुनिल खनालले पनि कार्यक्रमका लागि सुरक्षाको राम्रो प्रबन्ध मिलाइने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।