कास्की– हिउँ पहिरोका कारण कास्कीको अन्नपूर्ण आधारशिविर नजिक बेपत्ता भएका कोरियन पर्यटक र नेपाली पथप्रदर्शककाे खोजीका लागि नेपाली सेना परिचालित भएको छ। बिहीबार र शुक्रबार सो क्षेत्रमा परेको हिमपातसँगै आएको हिम पहिरोका कारण घुम्न गएका चार कोरियाली नागरिक र तीन नेपाली पथप्रदर्शक बेपत्ता भएका थिए।
खोजी कार्य जारी रहेपनि उनीहरुलाई अहिलेसम्म फेला पार्न सकिएको छैन। नेपाली सेनाका अनुसार उनीहरुको खोजी र उद्धारका लागि नेपाली सेनाको उद्धार टोली खटिएको छ। ‘उक्त टोलीले प्राप्त सूचना, नेपाली गाइडका आफन्त तथा घटनास्थल नजिकै रहेको होटलको सहयोगमा खोजी कार्य जारी राखेको छ,’ सेनाले भनेको छ।
अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले अन्नपूर्ण र माछापुच्छ्रे आधारशिविर क्षेत्रमा अलपत्र परेका परेका करिब १ सय १० जना विदेशी पर्यटकको उद्धार गरिएको जानकारी दिए। शनिबारसम्म १ सय १० जना विदेशी पर्यटकको उद्धार गरी हेलिकप्टरमार्फत् पोखरा ल्याइएको थियो।
जिल्लास्थित दैवी प्रकोप उद्धार समिति, अन्नपूर्ण गाउँपालिका, टान र प्रहरीले संयुक्त रुपमा उद्धारको काम गरेका थिए। त्यस क्षेत्रमा रहेका होटेल व्यवसाय गरेर बसेका करिब ३५ देखि ४० नेपालीहरुको पनि उद्धार गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।