काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङमाथि गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे उर्फ राजीव गुरुङले कुटपिट गरेको विषयमा अहिलेसम्म कुनै उजुरी नआएको कास्की प्रहरीले जनाएको छ।
कास्कीका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले घटनाका बारेमा प्रहरीले अध्यक्ष मिलनसँग सोधपुछ गरे पनि अहिलेसम्म उनले उजुरी नदिएको बताए। ‘यस विषयमा हामीले सोधपुछ गर्यौं। तर पीडित भनिएका व्यक्तिले नै उजुरी नदिए पनि कारबाही प्रक्रिया अघि बढ्न सकेन,’ एसपी कार्कीले भने।
मंगलबारदेखि सुरु भएको गण्डकी प्रदेश स्तरीय कपको उद्घाटन कार्यक्रममा अध्यक्ष गुरुङमाथि मनाङले हातपात गरेको आरोप लागेको छ।
मनाङको प्रतिनिधित्व गर्दै टिम लिएर पोखरा महानगरपालिका–२९ स्थित लेखनाथ भण्डारढिक खेल मैदान पुगेका सांसद मनाङले खेलाडीलाई बस्ने व्यवस्था नमिलाएको भन्दै अध्यक्ष गुरुङसँग विवाद भएको थियो।
सोही विवाद उत्कर्षमा पुगेपछि अध्यक्ष गुरुङमाथि सांसद मनाङेले हातपात गरेका आरोप लागेको छ।
सांसद मनाङले ग्राउण्डको राम्रो व्यवस्था नगरेको, खेलाडीलाई बस्नखानको व्यवस्था नगरेको, आयोजकले भ्रष्टाचार गरेको जस्ता आरोप लगाएका थिए। तर, सांसद मनाङले आफ्नो खेल सुरु हुनु अगावै खेलाडी पोखरा ल्याएको भन्दै त्यसको व्यवस्थापन गर्न नसकिने बताउँदै गर्दा आफूमाथि कुटपिट भएको आरोप लगाएका छन्।
यस विषयमा सांसद मनाङेसँग पटक-पटक सम्पर्क गर्दा उनले आजै दिउँसो पत्रकार सम्मेलन गरेर घटनाको जानकारी दिने बताए।
उता, अध्यक्ष गुरुङले भने बुधबार बिहान पत्रकार सम्मलेन गरेर आफूमाथि अन्याय भएको भन्दै सांसद मनाङेलाई कानूनी कठघरामा उभ्याएर छाड्ने घोषणा गरेका छन्।
यता, प्रहरीले अहिलेसम्म मनाङेविरुद्ध उजुरी नआएको बरु उल्टै अध्यक्ष गुरुङविरुद्ध उजुरी आएको जनाएको छ। एसपी कार्कीले भने, ‘सांसद मनाङेविरुद्ध होइन उनीबाट कुटिएका भनिएका मिलन गुरुङविरुद्ध चाहिँ जाहेरी आएको छ।’
पोखरा क्रियटिभ अवार्ड हाउसका सञ्चालक रामकृष्ण पौडेलले एन्फा कास्कीका अध्यक्ष गुरुङविरुद्ध जाहेरी दिएको एसपी मल्लले बताए।
पौडेलले शुरुमा अभद्र व्यवहार गरेको र पछि धकलेको र ढुंगाले ताकेको भन्दै उजुरी दिएका छन्। सिसीटिभी फुटेजमा समेत उक्त कुरा प्रष्ट देखिएको एसपी कार्कीको भनाइ छ।
मुख्यमन्त्री कपको लागि प्रपोजल लेटरहरुको काम आफू गरेको र सो विषयमा लेनदेनको विवाद हुँदा आफूमाथि अध्यक्ष गुरुङले कुटपिट गरेको उनको आरोप छ।
यो पनि पढ्नुहोस्
सांसद दीपक मनाङेले कुटे कास्की एन्फा अध्यक्ष
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।