काठमाडौं- ‘समानताको पुस्ता, प्रतिबद्ध युवा दस्ता’ भन्ने नाराका साथ सोमबारदेखि २ दिने राष्ट्रिय युवा सम्मेलन ललितपुरमा सुरु भएको छ।
सम्मेलनमा समाज रुपान्तरणमा युवाहरुको योगदान तथा लैंगिक समानता, महिला सशक्तीकरण र हिंसा न्यूनीकरणको क्षेत्रमा युवा परिचालन गर्नेबारे छलफल चलिरहेको छ।
लैंगिक समानताका क्षेत्रमा भएका विभिन्न अन्तर्राष्ट्रिय प्रयासका र उपलब्धिलाई छलफलको विषय बनाइएको छ।
सम्मेलनको उद्घाटन गर्दै एसिड पीडित मुस्कान खातुनले महिला भएकै आधारमा कोही पनि कुनै पीडामा पर्ने वातावरण अन्त्य गर्नुपर्नेमा जोड दिइन्।
आफूलाई समाजमा बाहिर निस्कन नदिने अभिलाषाका साथ अपराधीले एसिड प्रहार गरेको भए पनि उसलाई चुनौती दिन आफू जस्तै एसिड पीडितको पक्षमा आवाज उठाउन देशभर पुग्ने खातुनले प्रतिबद्धता गरेकी थिइन्।
'जस्ले एसिड छ्याप्यो, उसले मलाई समाजमा बाहिर निस्कन नदिने उदेश्य राखेको थियो। तर उसको उदेश्य पूरा हुन नदिन म आफू जस्तै पीडितका लागि आवाज उठाउछु,’ उनले भनिन्।
खातुनले प्रदेश २ सरकारले चलाई रहेको ‘बेटी बचाउ बेटी पढाउ’ अभियानप्रति लक्षित गर्दै पढ्न जाने वातावरण बनाउन आग्रह गरिन्। ‘बेटी बचाउ बेटी पढाउ’ भन्ने नारा लिएको छ प्रदेश सरकारले तर पढ्न जाँदा यस्तो हुन्छ कसरी पढ्ने?,’ उनको प्रतिप्रश्न थियो।
उनले एसिड पीडितका लागि सरकारले शिक्षा, स्वास्थ्य र रोजगारको ग्यारेन्टीको माग गरिन्।
कार्यक्रममा प्रतिनिधिसभा सुशासन समितिको सभापति शशी श्रेष्ठ, महिला अधिकारकर्मी वन्दना राणा, दुर्गा घिमिरे, मेधा शर्मालगायतले महिला अधिकारका क्षेत्रमा बताएका थिए।
नेपाल सरकार राष्ट्रिय युवा परिषद्सँगको सहकार्यमा जागृति बाल तथा युवा सरोकार नेपाल र बेइजिङ पुनरावलोकनका लागि राष्ट्रिय सञ्जालले संयुक्त रुपमा सम्मेलन आयोजना गरेको हो।
दुई दिनसम्म चल्ने सम्मेलनमा ७७ वटै जिल्लाका २ सय जना युवाको सहभागिता छ। सम्मेलन बुधबार समापन हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।