डडेल्धुरा– स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) संसदबाट अनुमोदन हुने बताएका छन्।
मंगलबार प्रेस संगठन डडेल्धुराले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले एमसिसी कुनै सैन्य प्रयोजनका लागि नभएकाले संसदबाट पास हुने बताएका हुन्।
माघ १२ गते संसदले सभामुख पाएपछि सरकारले एमसिसीको फाइल संसदमा पेश गर्ने र कसैको रोकतोकबिना पास हुने उनको दाबी छ।
‘एमसिसी कुनै सैन्य परियोजना हैन। हातहतियार, बारूद र सशस्त्र बलसँग यसको कुनै संलग्नता छैन,’ उनले भने, ‘एमसिसी विकास परियोजना हो। नेपालका लागि आवश्यक पनि छ।’ एमसिसी परियोजना कार्यान्वयनमा लगिने उनको भनाइ थियो।
एमसिसीका बारेमा पार्टीभित्र विवाद रहनु समस्या भएको उनले बताए। पार्टीभित्र केही मतभेद रहनु स्वाभाविक भएको उनको तर्क थियो।
भीम रावलप्रति कटाक्ष
नेकपाको एकता देखेर अन्य दलहरू छट्पटाइरहेको उनले बताए। कांग्रेसप्रति लक्षित गर्दै उनले उनीहरूप्रति सहानुभूति राख्न मात्रै सकिने धारण राखे।
एमसिसी र सरकारका कामको विरोध गर्दै आइरहेका नेता भीम रावल ‘पद नपाएर’ विरोधमा उत्रिएको आरोप लगाए। रावलप्रति कटाक्ष गर्दै मन्त्री ढकालले रावलको विरोधले विपक्षी दललाई राहत पुगेको बताए।
‘अलिअलि पद अवसर नपाएका कारण जो ‘कुण्ठा’हरू कहिलेकाहीँ व्यक्त हुन्छन्। त्यसले हाम्रा (नेकपा) कार्यकर्ताभन्दा पनि विपक्षीहरूलाई बाँच्नका लागि राहत दिएका छन्।’ उनले रावलप्रति कटाक्ष गर्दै भने,‘यस्ता अभिव्यक्तिहरूले पनि समाजमा योगदान नै गरेका छन्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।