प्युठान- स्वर्गद्धारी नगरपालिकाले १ सय ९२ जना सुत्केरी महिलालाई कोसेली सामग्री वितरण गरेको छ।
‘उपमेयरसँग कोसेली' कार्यक्रममार्फत् नगरपालिकाका सात वटै स्वास्थ्य संस्थामा पुगेर कोसेली वितरण गरिएको छ। स्वास्थ्य संस्थामा सुत्केरी गराउने महिलालाई उपहारसहितको झोला वितरण गरिएको छ।
झोलामा सुत्केरीका लागि आवश्यक हाईजनिक किटर, सेनेटरी प्याड, नेलकटर, टुथपेस्ट, ब्रस, बेबी बक्स, बेबी आयल, डिटोल साबुन, डिटोल झोल गरी ९ प्रकारका सामग्री वितरण गरिएको नगरपालिका स्वास्थ्य शाखा प्रमुख दलबहादुर केसीले बताए।
कोचिवाङ, स्वर्गद्धारी, बर्जिवाङ, भिग्री, सारी र सोत्रे स्वास्थ्य संस्थामा पुगेर सुत्केरी महिलालाई २ हजार ५ सय रुपैयाँ बराबरको कोसेली बाँडिएको उनले सुनाए। मंसिरसम्म स्वास्थ्य संस्थामा गर्भवती हुने एक सय ९२ महिलालाई कोसेली वितरण गरिएको बताउँदै उनले भने, ’आउँदो असारसम्म तीन सय महिलालाई कोसेली दिने लक्ष्य छ।’
सुत्केरी महिलाको पोषणमा सुधार ल्याउनका साथै खानपान शैली परिर्वतन गर्ने कार्यक्रम ल्याइएको उममेयर गोमा रेग्मीले बताइन्। 'नगरक्षेत्रभित्रका गरिब, विपन्न, पिछडिएका तथा स्वास्थ्य सेवाको पहुँचमा पुग्न नसकेका गर्भवती तथा सुत्केरी महिलाहरूलाई सघाउन यो कार्यक्रम सञ्चालन गरेका हौँ,’ उनले भनिन, 'यस्का लागि नगरपालिकाले आर्थिक वर्ष ०७६/०७७ मा २० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। शाखा प्रमुख केसीले अब गर्भ जाँच गराउने महिलालाई पनि कोसेली दिइने जानकारी दिए।
पहिलो पटक (४ महिनामा) गर्भ जाँच गराउँदा एक केजी चना, नेलकटर, दोस्रो पटक (६ महिनामा) गर्भ जाँच गराउँदा टुथपेस्ट र टुथब्रुस, तेस्रो पटक (८ महिनामा) गर्भ जाँच गराउँदा साबुन र काँइयो, चौथो पटक (अन्तिम महिना) गर्भ जाँच गराउँदा एक केजी नुन र टर्चलाईट प्रदान गरिने केसीले जानकारी दिए। त्यस्तै महिला सुत्केरी भइसकेपछि एक क्यारेट अन्डा, आयुर्वेदिक, तेल र यातायात खर्च एक हजार रुपैयाँसमेत प्रदान गरिने स्वास्थ्य शाखा प्रमुख केसीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।