बलिउडमा कंगना रनावतको परिचय प्रतिभाशाली अभिनेत्रीमात्रै होइन, हिम्मतिली अभिनेत्री पनि हो। खराब प्रवृत्तीविरुद्ध उनी धक नमानी टिप्पणी गर्छिन्।
बलिउडमा शक्तिशाली मानिएका करण जोहर, ऋतिक रोशनजस्ता सेलिब्रेटीसँग समेत ‘पंगा’ लिइसकेकी यि अभिनेत्री अहिले आफ्नो नयाँ फिल्म ‘पंगा’को प्रमोसनमा व्यस्त छिन्।
हालसालै फिल्म प्रमोसनका क्रममा आफ्नो विगत सम्झिएर कंगना एकाएक भावुक भइन्। उनले एक अन्तरवार्तामा भनिन्, ‘मैले हिन्दी सिनेमामा प्रवेश नगरेको भए सायद आफ्नो पुरै परिवार गुमाइसकेको हुन्थे।’
आफुलाई एक आत्मनिर्भर महिलाका रुपमा उभ्याउनका लागि उनले १५ वर्षको उमेरमा घर छोडेकी थिइन्। मुम्बई मिररसँग कुराकानीका क्रममा उनले भनेकी छिन्,‘भाग्यमानी भनौँ, आज मेरो परिवार मसँग छ। तर, म यो जान्दछु कि एक साथ जोडिरहनमा सफलताको पनि ठूलो योगदान हुन्छ। मैले फिल्मका माध्यमबाट यस्तो नगरेको भए, सायद आज मैले मेरो परिवार र सपना दुवै गुमाइसकेको हुन्थे र मसँग बाँकी केही हुन्थेन।’
जब कंगनाकी बहिनी रंगोलीमाथि उनका कलेजका साथीहरुले एसिड आक्रमण गरेका थिए, त्यतिबेला कंगना मात्रै १९ वर्षकी थिइन्। रंगोलीले उसको साथी अविनाश शर्माको प्रेम प्रस्ताव रिजेक्ट गरेकी थिइन् र त्यहीँ कारण उनीमाथि एसिड आक्रमण भएको थियो।
त्यो समय कंगना आर्थिक रुपमा निकै कमजोर थिइन्। कंगनाले भनिन्, ‘त्यतिबेला बहिनीको सर्जरी र उपचारका लागि मसँग पैसा हुन्थेन। त्यसैले मैले लगातार केही वाहियात फिल्ममा गरेँ।’
कंगनाले उक्त अन्तरवार्ताका क्रममा थप भनेकी छिन्, ‘जतिबेला मेरो बहिनीमाथि एसिड आक्रमण भयो त्यतिबेला म१९ वर्षकी थिएँ र मेरो सुनौलो करिअर भर्खर सुरु हुँदै थियो। मेरा केटी साथीहरुले आफ्नो केश ठिक भएन, मन लागेजस्तो खान पाइएन भन्ने विषयमा चिन्ता गरिरहँदा म भने एकदमै विभत्स र वास्तविक घटनासँग जुँधिरहेकी थिएँ, सायद मसँग रुनका लागि पनि समय थिएन।’
कंगनाकी बहिनीको त्यतिबेला ५४ सर्जरी भएको थियो। ‘सायद म त्यतिबेला राम्रा कुराहरुका लागि योग्य थिइन, त्यसैले छोटो रोलमा पनि काम गरेँ, वाहियात फिल्म पनि गरेँ ताकी मेरो बहिनीको उपचार भारतको बेस्ट सर्जनको हातबाट होस्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।