राजविराज- आफैले चलाएको सवारी दुर्घटनामा परी सप्तरीको अग्निसाईर कृष्णासवरण गाउँपालिका–१ का वडाध्यक्षको मृत्यु भएको छ। को ३६ प ५३०६ नम्बरको मोटरसाइकल दुर्घटनामा परी मंगलबार वडाध्यक्ष कुमार चौधरीको मृत्यु भएको हो।
सोमबार राती करिब १० वजे ३८ वर्षीय चौधरीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
पूर्वपश्चिम राजमार्गबाट घर छिर्नै लाग्दा घुम्तीमा अनियन्त्रित भएर मोटरसाइकल दुर्घटना भएको थियो।
दुर्घटनामा परी चौधरी गम्भीर घाइते भएका थिए। कञ्चनरुप नगरपालिकाकास्थित धर्मेश्वर अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लाने क्रममा बाटोमै उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
चौधरीका बुवाआमा, श्रीमती र २ छोरा छन्। सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, सप्तरी शाखाका पूर्व अध्यक्षसमेत रहेका चौधरी स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए।
वडाअध्यक्षको निधन भएपछि शोक मनाउन अग्निसाईर कृष्णासवरण गाउँपालिका र मातहतका सबै कार्यालयमा मंगलबार बिदा दिइएको छ।
मंगलबार दिउँसो १ बजे नगरपालिका कार्यालयमा उनको श्रद्धाञ्जलीका लागि कार्यक्रमसमेत राखिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।