काठमाडौं- स्वच्छ र खुला टुँडिखेलका लागि चलिरहेको अकुपाइ टुँडिखेल अभियानका अभियन्ताहरुले मंगलबार बिहान खुला मञ्चमा राखिएको वीर अस्पतालको पुराना गाडी, टहरा र पार्किङ हटाउन माग गरेका छन्।
खुलामञ्चमा राखिएको वीर अस्पतालका अस्तव्यस्त सामग्री हटाउन माग गर्दै सांसद भिमसेन दास प्रधानसहित अभियन्ताले वीर अस्पतालका निर्देशक केदार सेञ्चुरीलाई ज्ञापन पत्र बुझाएका हुन्।
टुँडिखेल विपद्को साथी पनि भएकाले त्यसमा अन्य सामग्री राखेर सामान्य नागरिकलाई खुला स्थानबाट बन्देज गर्न नहुने उनीहरुको माग छ।
‘स्वास्थ्यको दृष्टिकोणले समेत खुला ठाउँको महत्व ठूलो छ। यदि त्यसमा अनावश्यक पार्किङ या निर्माण सामग्री राखेमा संविधान बम्मोजिम सार्वजनिक सम्पत्तिको सुरक्षा र संरक्षण हेतु कानूनी उपचार खोज्न बाध्य हुनेछौँ’ विज्ञप्तीमा भनिएको छ।
जनस्तरबाट आफ्नो दायित्वको आत्मबोध गरी जनप्रतिनिधिहरूलाई समेत आफ्नो दायित्वबोध गराई टुँडिखेलको संरक्षण तथा खुल्ला क्षेत्रको महत्व उजागर गर्न गएको कात्तिक २३ गतेदेखि हरेक शनिबार कार्यक्रम भइरहेका छन्।
मानव साङ्लोबाट सुरु भएको कार्यक्रम दोस्रो हप्ता ऐतिहासिक खरिको बोट पुनस्र्थापना, तेस्रो हप्ता साहित्यिक सम्मेलन, चौथो हप्ता सम्पदाका महत्व र त्यसमा देखिएका विकृति प्रतिबिम्बित गर्ने सम्पदा लडाई नामक पुस्तक बारे छलफल, पाँचौं हप्तामा खेलकुदको दृष्टिकोणले टुँडिखेलको महत्व झल्काउने कार्यक्रम भएको थियो।
यस्तै छैठौँ हप्तामा खुला मञ्चमा जनताको डोजर लगेर सरसफाइको थालनी, सातौं हप्तामा खुलामञ्चको कथाव्यथा बारे प्रकाश पार्ने कार्यक्रम, आठौं र नवौं हप्तामा खुलामञ्चमा चित्र निर्माण गरी जनचेतना अभिवृद्धि गर्ने र दशौं हप्तामा वडा नं २८ को नेतृत्वमा खुला मञ्चको गरिमालाई कायम राख्न पार्किङ्ग निषेध गरिने सूचना टास्ने काम गरिएको थियो। एघारौँ हप्ता टुँडिखेलको महत्व झल्कने तस्बिर प्रदर्शनी गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।