काठमाडौं– मकवानपुरको दामनस्थित एक होटलमा सुतेको अवस्थामा बेहोस भएका आठैजना भारतीय पर्यटकको मृत्यु भएको छ।
उनीहरुको उपचारको क्रममा काठमाडौंस्थित ह्याम्स अस्पतालमा मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होबिन्द्र बोगटीले जानकारी दिए। मृत्यु हुनेमा भारत केरला बस्ने वर्ष ३८ का रन्जित कप, सोही ठाउँकी ३४ वर्षीया ईन्द्र, वर्ष ३७ का प्रवीण, ३२ वर्षीया सरिया, ५ वर्षीय बालक अभि, ७ वर्षीया बालिका अर्चना, ५ वर्षका बालक बैशनव र ९ वर्षीया बन्द्रा छन्।
उनीहरु दुई परिवारका सदस्य भएको हुनसक्ने प्रहरीले जनाएको छ। बेहास उनीहरुको उद्दार गरी हेलिकप्टरमार्फत् उपचारका लागि काठमाडौं ल्याइएकाे थियो। कोठामा हिटर बालेर सुतेका उनीहरु बेहास भएको थिए।
उनीहरुसहित १५ भारतीय पर्यटक पोखराबाट सोमबार दामन घुम्न गएका थिए। बा३क ३६८८ नम्बरको बसमा गएका उनीहरु दामनको पानोरोमा रिसोर्टमा ४ वटा कोठा बुक गरेर बसेका थिए। जसमध्ये एउटा कोठामा हिटर बालेर सुतेका उनीहरु बेहोस अवस्थामा फेला परेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।