काठमाडौं- हेल्प पब्लिकेशन प्रालिले नेपाल लाइभ डटकमका सम्पादक नारायण अमृतलाई प्रधानसम्पादकमा बढुवा गरेको छ। सम्पादकको जिम्मेवारी भने युवा पत्रकार केपी ढुंगानालाई दिएको छ। पब्लिकेशन व्यवस्थापनको आइतबार बसेको बैठकले प्रधानसम्पादकमा अमृत र सम्पादकमा ढुंगानालाई जिम्मेवारी सुम्पिएको हो।
१८ वर्षदेखि पत्रकारितामा सक्रिय ढुंगाना यसअघि शुक्रबार साप्ताहिकका सम्पादक थिए।
पहिलोपोस्ट डटकममा कार्यकारी सम्पादकको जिम्मेवारी सम्हालिसकेका ढुंगानाले राजधानी, नयाँ पत्रिका, नागरिक र कान्तिपुर दैनिकमा समेत काम गरिसकेका छन्।
यसैबीच पब्लिकेशनले स्वास्थ्यखबर डटकम र स्वास्थ्य खबरपत्रिकाको सम्पादकमा प्रवीण ढकाललाई नियुक्त गरेको औपचारिक घोषणा गरेको छ।
‘हामीले हाम्रो संस्थामा नयाँ सहकर्मीहरु भित्र्याएका छौं, यससँगै संस्था बलियो भएको महसुस भएको छ,' पब्लिकेशनका अध्यक्ष अनिल न्यौपानेले सोमबार आयोजित सहकर्मी स्वागत कार्यक्रममा भने, ‘छोटै समयमा हामीले फड्को मार्न सफल भएका छौं। आशा छ, यो गति अझै बढ्ने छ।’
त्यसैगरी, पब्लिकेशनले सुरेश ढकाललाई प्रशासन प्रमुख र नवराज नेपाललाई मार्केटिङ प्रमुखको जिम्मेवारी दिएको छ। ढकाल र नेपाल यसअघि नेपाल रिपब्लिक मिडियामा कार्यरत थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।