काठमाडौं– अभिनेत्री साम्राज्ञीराज्य लक्ष्मी शाहले प्रेमी देवांश राणासँग स्क्रिन सेयर गरेकी छन्। इन्स्टाग्राममा फस्टलुक सार्वजनिक गर्दै उनी स्वयम्ले यो खुसी साटेकी हुन्।
साम्राज्ञीका अनुसार उनले देवांशसँग म्युजिक भिडियोमा जोडी बाँधेकी हुन्। इन्स्टामा प्रेमीसँगको तस्बिर राख्दै उनले लेखेकी छिन्, ‘हामी अनस्क्रिन जोडीका रुपमा रहेको म्युजिक भिडियोको फस्ट लुक। भिडियो चाँडै आउँदैछ। अनुमान गर्नुस् त, गायक को होला?'
केही समययता साम्राज्ञी देवांशसँग गहिरो प्रेममा छिन्। सार्वजनिक कार्यक्रममा होस् या विदा मनाउन उनीहरु सधैं सँगै भइरहेका हुन्छन्। देवाशं नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाका छोरा हुन्।
केही समयअघिमात्रै देवाशंले साम्राज्ञीसँग विदा मनाउन इन्डोनेसिया पुग्दा दुवैले ‘इरोटिक मुड’मा खिचाएका केही अन्तरंग दृश्यहरु बाहिर ल्याएका थिए। सामाजिक सञ्जालमा ती तस्बिरहरुको निकै चर्चा भएकोे थियो। कतिले ‘यो त अति भयो’ भन्दै आलोचना गरेका थिए भने कतिले सामान्य रुपमा ग्रहण गरे।
त्यस्तै आफ्नो ‘होमटाउन’ वीरगन्जमा आयोजित नेपाल चलचित्र स्वर्णिम महोत्सवमा समेत साम्राज्ञी ब्वायफ्रेन्ड लिएरै पुगेकै थिइन्।
पछिल्लो समय साम्राज्ञी फिल्मभन्दा पनि बढी प्रेमीसँगको सम्बन्धका कारण चर्चामा छाइरहेकी छन्। यस वर्ष उनका दुई फिल्म रिलिज भए, ‘मारुनी’ र ‘रातो टीका निधारमा’। दुवै बक्सअफिसमा नराम्रोसँग चिप्लिए।
अब प्रेमीसँग स्क्रिन सेयर गरेको म्युजिक भिडियो कति सफल होला, हेर्न बाँकी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।