बुटवल- प्रदेश ५ प्रदेशसभाको हिउँदे अधिवेशन आइतबारदेखि सुरु भएको छ।
असोज २ गते सकिएको बजेट अधिवेशन (चौथो अधिवेशन) सकिएको १ सय ११ दिनमा पाँचौ अधिवेशन शुरु भएको हो।
चौथो अधिवेशन जेठ २ गतेदेखि सुरु भएर असोज २ गते सकिएको थियो।
मुख्यमन्त्री शंकर पोखरेलको सिफारिसमा प्रदेश प्रमुख धर्मनाथ यादवले आइतबार (माघ ५) का लागि अधिवेशन आह्वान गरेका थिए।
सरकारले बिजनेस दिन नसकेका कारण चार महिनासम्म संसद बैठक चल्न सकेको थिएन।
प्रदेशसभाको चौथौ अधिवेशनसम्म ४९ वटा विधेयक पारित भएका छन्।
आइतबार शुरु भएको संसद बैठकमा हिउँदे अधिवेशनको शुभकामनाको कार्यक्रम रहेको थियो।
आइतबारको बैठकमा राष्ट्रिय जनमोर्चाकी सांसद तारा जिसी, समाजवादी फोरमका सांसद सन्तोष कुमार पाण्डेय, नेपाली काग्रेसका सांसद फकरुद्दीन खान, निर्मला क्षेत्री, नेकपाका सांसद दिपेश थारू, भमिश्वर ढकालले विभिन्न विषयमा कुरा उठाएका थिए।
हिउँदे अधिवेशनमा बिजनेस अभाव हुन नदिने सरकारका प्रवक्ता एंव भौतिक पूर्वाधार विकास मन्त्री वैजनाथ चौधरीले बताए।
सरकारले ६ वटा विधेयक संसद पठाउने तयारी गरेको मन्त्री चौधरीको भनाइ छ।
प्रदेश ५ मा नेकपाका ६१, नेपाली काँग्रेसका १९, समाजवादी पार्टीका ५ र राजपा तथा राष्ट्रिय जनमोर्चाका १-१ जना सांसद गरी ८७ जना सांसद् छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।