काठमाडौं- प्रशिक्षक एर्नेस्टो भालभर्देको बर्खास्तीपछि नियुक्त भएका स्पेनिस क्बल बार्सिलोनाका प्रशिक्षक क्विके सेटियनको आइतबार पहिलो खेल हुँदैछ। ला लिगा अन्तर्गत आइतबार राति पौने २ बजे बार्सिलोना र ग्रानाडाबीच हुने खेल प्रशिक्षक सेटियनको डेब्यू खेल हो।
घाइते रहेका लुइस स्वारेज र उसमान डेम्बेले साथै एक खेलको प्रतिबन्धमा रहेका डि योङबिना सेटियनले बार्सिलोनाको लाइनअप मिलाउनुपर्ने छ। क्लबमा आएको पहिलो दिनदेखि नै अभ्यासमा अपनाएको शैलीले चर्चामा रहेका सेटियनले ग्रानाडाविरुद्ध अपनाउने रणनीतिले उनको आगामि दिन झल्कने छ।
ग्रानाडाले जारी लिगमा नै पाँचौँ चरणको खेलमा बार्सिलोनालाई २-० ले हराएकाले पनि आजको खेलमा प्रशिक्षकको योजनाको विशेष महत्व रहने छ। घरेलु मैदानमा बार्सिलोनालाई राम्रो फुटबल खेल्ने टिमका रुपमा चिनिए पनि ग्रानडाविरुद्ध सहज हुने छैन। आइतबार राति सेभियालाई हराएर रियल मड्रिड शीर्षमा उक्लिएकाले पनि बार्सिलोनालाई दबाब पर्ने देखिन्छ।
सेटियनले गोलकिपर टेर स्टेगेन, डिफेन्समा सेमेडो, पिके, लेङ्लेट, अल्बा साथै फिडफिल्डमा भिडाल, बुस्केट्स, आर्थर र फरवार्डमा मेस्सी, ग्रिजम्यान र फातीलाई खेलाउने देखिएको छ। बार्सा ‘बी’ बाट सिनियर टिमको अभ्यासमा सामेल भइरहेका रिकी पुइगलाई पनि उनले विशेष चासो दिइरहेका छन्।
सेटियनले बार्सिलोना आएको दिन नै ‘आफूले राम्रो फुटबलको ग्यारेन्टी गर्ने’ बताएकाले उनको प्रशिक्षणमा खेल हेर्न बार्सिलोना समर्थक आतुर छन्। बार्सिलोना लिजेण्ड जोहान क्रुफको शैली मन पराउने सेटियनले पुरानो ‘टिकी टाका’ शैली जगाउने विश्वास गरिएको छ।
कस्ता छन् नयाँ प्रशिक्षक?
भालभर्देलाई बर्खास्त गरेर ल्याइएका नयाँ प्रशिक्षक किक्वे सेटियन धेरै परिचित नाम होइन। बार्सिलोनाका कप्तान लियोनल मेस्सीको प्रशंसक रहेका सेटियन बार्सिलोनाको ‘टिकी टाका’ शैलीका पनि प्रशंसक हुन्।
सन् २०२२ को जुन महिनासम्मको सम्झौतामा बार्सिलोना आएका ६१ वर्षका सेटियन ‘बल पोसेसन’कै आधारमा बढ्ने प्रशिक्षक हुन्। एक समयका सेन्टर मिडफिल्डर सेटियनले बार्सिलोनाको पुरानो शैली फर्काउने आशमा समर्थकहरु छन्।
खेलाडीका रुपमा उनले रेसिङ सानटान्डर, एथ्लेटिको मड्रिड, लोग्रोनेस र लेभान्टे क्लबमा आफ्नो खुबी देखाएका थिए। सन् १९७८ मा स्पेन यु२१ हुँदै १९८५ देखि १९८६ सम्म स्पेन राष्ट्रिय टिमका खेलाडी रहेका सेटियन प्रशिक्षक बनेको बार्सिलोना आठौँ टिम हो।
यसअघि सेटियनले २००१ देखि ०२ सम्म स्पेनकै क्लब रेसिङ सानटान्डर, २००३ मा पोली इजिडो, २००६ मा इक्वेटोरियल गिनीको राष्ट्रिय टिम, २००७–०८ मा स्पेनकै लग्रोनेस क्लब सम्हालेका थिए। यस्तै २००९ देखि २०१५ सम्म स्पेनकै डेपोर्टिभो लुगो, २०१५ देखि २०१७ सम्म लस पाल्मस साथै २०१७ देखि २०१९ सम्म रियल बेटिस टिम सम्हालेका थिए।
संयोग कस्तो छ भने, प्रशिक्षकको रुपमा भालभर्दे रहँदा बार्सिलोनाले घरेलु मैदान क्याम्प नाउमा एक खेल मात्रै हारेको थियो। जुन खेलमा रियल बेटिसले ४–३ ले हराउँदा बेटिसको प्रशिक्षक सेटियन नै थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।