काठमाडौं- प्रतिनिधिसभा सभामुखमा पार्टीका तर्फबाट उम्मेदवार चयन गर्न सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ।
बैठकले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आइतबार बिहान भएको सहमतिलाई अनुमोदन गर्नेछ। दुवै शीर्ष नेताबीच स्थायी समिति सदस्य अग्नि सापकोटालाई सभामुख बनाउन सहमति बनेको छ।
सभामुखको निर्वाचन कार्यतालिका र उम्मेदवार चयनमा सत्तारुढ दलमा विवाद हुँदा गत पुस ११, १६ र २७ गतेका तय भएको प्रतिनिधिसभा बैठक स्थगित भएको थियो। बैठक सोमबारका लागि तोकिएको छ।
उपसभामुख डा शिवमाया तुम्बाहाङ्फेलाई राजीनामा दिन सचिवालयको यसअघिको बैठकले आग्रह गरिसकेको थियो ।
गत पुस ४ गतेदेखि सङ्घीय संसद्को पाँचौँ अधिवेशनअन्तर्गत प्रतिनिधिसभाको बैठक सुरु भए पनि नियमित रुपमा नचली स्थगन हुँदै आएको छ । संसद् सचिवालयका एक महिला कर्मचारीमाथि यौन दुव्र्यवहारको आरोप लागेपछि तत्कालीन सभामुख कृष्णबहादुर महराले गत असोज १५ गते पदबाट राजीनामा दिएपछि पद रिक्त छ। हाल उनी पुर्पक्षका लागि थुनामा छन्।
सत्तारूढ नेकपाभित्र सभामुख कसलाई बनाउने भन्ने विषयमा छलफल जारी रहेकाले प्रतिनिधिसभाको बैठक प्रभावित हुँदै आएको छ । सभामुख र उपसभामुख फरक फरक दलबाट चयन हुनुपर्ने संवैधानिक व्यवस्था छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।