काठमाडौं- सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा फ्रेन्ड्स क्लबले सरस्वती युथ क्लबलाई ४–१ ले हराएको छ। ७ खेल सकिँदा सरस्वती क्लब अझै जितविहीन छ।
आइतबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा पाँचौँ मिनेटमा नै उत्तम राईले गोल गर्दै फ्रेन्ड्सलाई अग्रता दिलाएका थिए। खेलमा ६० प्रतिशत समय बलमा सरस्वतीले नियन्त्रण बनाए पनि गोल जोगाउन भने सकेन।
फ्रेन्ड्सका लागि खेलको २४औँ मिनेटमा साउलो डि एक्विनोले अर्को गोल थपे। ७०औँ मिनेटमा वाग्नर डि कार्मोले फ्रेन्ड्सका लागि तेस्रो गोल गरे। सरस्वतीका कजिम बुसारीले ८० औँ मिनेटमा एक गोल गरेका थिए। त्यसको ६ मिनेटपछि नै फ्रेन्ड्सका उत्तम राई व्यक्तिगत दोस्रो तथा टिमको चौथो गोल गरे।
छैठौँ चरणको खेल सकिँदासम्म अंक तालिकामा फ्रेन्ड्स १३ औँ र सरस्वती १४औँ स्थानमा थिए। सरस्वतीलाई हराएसँगै फ्रेन्ड्स नवौँ स्थानमा उक्लिएको छ।
७ खेलमा २ जित ३ हार र २ बराबरी खेलेको फ्रेन्ड्सको ८ अंक छ। पुछारमा नै रहेको सरस्वतीको ७ खेलमा १ अंक मात्र छ। ६ खेल हारेको सरस्वतीले एक खेल बराबरी खेलेको हो।
लिग अन्तर्गत सोमबार दुई खेल हुँदैछ। जसमा पहिलो खेलमा बिग्रेड ब्वाइज क्लब र संकटा क्लब एन्फा कम्प्लेक्स सातदोबाटोमा खेल्नेछन्। साथै दोस्रो खेलमा दिउँसो ३ बजे दशरथ रंगशालामा च्यासल युथ क्लब र आर्मी क्बल खेल्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।