काठमाडौं- सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा सशस्त्र प्रहरीको एपिएफ क्लब पाँच मिनेटमा दुई गोल खान पुग्दा न्यू रोड टिम (एनआरटी) सँग पराजित भएको छ।
आइतबार एन्फा कम्प्लेक्सको मैदान सातदोबाटोमा पहिलो हाफमा १–१ को बराबरीबाट बढेको खेलमा एक समय एपिएफले अग्रता बनाए पनि त्यसलाई जोगाउन नसकेर दुई गोल खान पुगेको हो। ७९औँ मिनेटसम्म २–२ को बराबरीमा रहेको खेलमा एनआरटीले ८०औँ र ८५औँ मिनेटमा गोल गरेको हो।
थियरी बिइकको गोलमा २४ औँ मिनेटमा नै एनआरटीले अग्रता बनाएको थियो। तर, पहिलो हाफको नै ४१औँ मिनेटमा एपिएफका आशिस लामाले गोल गर्दै खेल बराबरी गरेका थिए।
आशिसले नै खेलको ५३औँ मिनेटमा गोल गर्दै एपिएफलाई अग्रता दिलाए। तर रेलिगेसनबाट बच्ने प्रयत्नमा रहेको एपिएफले अग्रता जोगाउन सकेन। खेलको ८०औँ मिनेटमा एनआरटीका लागि जोर्डन ओओनाले गोल गर्दै खेल बराबरी बनाए। त्यसको पाँच मिनेट पछि नै दर्शन गुरुङले गोल गर्दै एनआरटीलाई जित दिलाए।
यसअघि आठौँ स्थानमा रहेको एनआरटी चौथो स्थानमा पुगेको छ। ७ खेलमा ४ जित, २ हार र १ बराबरी खेलेको एनआरटीको ११ अंक छ। गएको वर्ष रेलिगेसन नभएको लिगमा अन्तिममा रहेको एनआरटीको एन्फाको नियमअनुसार यसपटक दुई अंक कम गरिएको हो।
छैठौँ चरणका खेल सकिँदासम्म एपिएफ अंक तालिकामा १२औँ स्थानमा थियो। आइतबारको हारले एपिएफलाई रेलिगेसनबाट बच्न अझ संघर्ष गर्नुपर्ने भएको छ।
अहिले १२औँ स्थानमा रहेको एपिएफको ७ खेलमा १ जित, ४ हार र २ बराबरीसहित ५ अंक रहेको छ।
आइतबार नै दिउँसो ३ बजे दोस्रो खेलमा फ्रेन्ड्स क्बल र सरस्वती युथ क्लब खेल्दै छन्। दुवै लिग तालिकामा पुछारमा रहेका टिम हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।