काठमाडौं– त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा गायिका आस्था राउतले गरेको ‘अभद्र व्यवहार’को मुद्दामा प्रहरीले कारबाही प्रक्रिया सुरु गरेको छ। सुरक्षा जाँचका क्रममा गायिका राउतको महिला प्रहरी रमिता श्रेष्ठसँग विवाद भएको थियो।
महिला प्रहरी श्रेष्ठले गायिका राउतले सुरक्षा जाँचका क्रममा दुर्व्यवहार गरेको भन्दै विमानस्थल प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन्। उक्त जाहेरी महानगरीय प्रहरी कार्यालय रानीपोखरी हुँदै महानगरीय प्रहरी परिसर आइपुगेको परिसरका एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए।
योसँगै उनलाई प्रहरीले आजै पक्राउ पूर्जी थमाएर अनुसन्धान सुरु गर्ने जनाएको छ। काठमाडौं प्रहरी स्रोतका अनुसार उनलाई अभद्र व्यवहारमा मुद्दा नै चलाउने तयारीको छ।
एसएसपी सुवेदीले भने, ‘उनलाई सम्झाएर माफी मगाएर छाड्ने कुरा हुँदैन। कानूनअनुसार नै कारबाही हुन्छ।’ गायिका राउतको कसुर प्रमाणित भएमा पाँच महिनादेखि एक वर्षसम्म कैद वा पाँच सय रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्ने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।