सोलुखुम्बु- सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका-११ तिङ्लामा स्थानीय र प्रहरीबीच झडप हुँदा एक ट्राफिक प्रहरी घाइते भएका छन्।
सोलुदुधकुण्ड नगरपालिका-८ पत्तालेमा शनिबार गर्ने भनिएको विद्युतको केन्द्रीय प्रसारणलाईन उद्धघाटन कार्यक्रममा सहभागी हुन सदरमुकाम बाट गएको टोलीलाई स्थानीयले रोकेपछि स्थिति नियन्त्रणमा लिन खोज्दा स्थानीय र प्रहरीबीच झडप भएको प्रदेश १ का डिआइजी ठाकुरप्रसाद ज्ञवालीले जानकारी दिए।
झडपमा परी एक जना ट्राफिक प्रहरी घाइते भएको समेत डिआइजी ज्ञवालीले जानकारी दिए।
'एक ट्राफिक प्रहरी घाइते भएका छन्। उनको खुट्टामा चोट लागेको छ,' उनले भने, 'प्रहरीले नियन्त्रणमा लिने प्रयास गरेपछि झडप भएको हो। प्रहरीले स्थिति नियन्त्रणमा लिन हवाइ फायर र अश्रुग्यास प्रहार गरेको हो।'
प्रदर्शनकारीले ११ ओटा मोटरसाइकल र एक बोलेरोमा आगो लगाएका छन्। अहिले स्थिति सामान्य बनेको समेत डिआइजी ज्ञवालीले बताए।
कार्यक्रममा प्रदेश सांसदलगायतको टोली कार्यक्रम स्थल जान लागेको थियो। झडपको स्थिति सृजना भएपछि अतिथिहरू बीच बाटोबाटै सदरमुकाम सल्लेरी फर्किएका छन्।
तिङ्लामा विद्युत विस्तार नभई पत्तालेमा कार्यक्रम उद्धघाटन गर्न लागेको भन्दै सोलुदूधकुण्ड नगरपालिका-११ तिङ्लाका स्थानीयले कार्यक्रम बहिस्कार गरेका थिए।
झडपपछि प्रदर्शनकारीहरुले ठाउँठाउँमा रुख ढालेर सडक अवरुद्ध गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।