काठमाडौं- सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिनसम्बन्धी आयोगका पदाधिकारी सिफारिस भएका छन्।
सिफारिस समितिको शनिबार बसेको बैठकले दुवै आयोगका लागि १० जनाको नाम सिफारिस गरेको हो। समितिकी सदस्य शर्मिला कार्कीले समितिले सर्वसम्मतिले कानुन मन्त्रीमार्फत सरकार समक्ष नाम सिफारिस गरेको बताइन्।
सोमबार बस्ने मन्त्री परिषदको बैठकले सिफारिस गरिएका नामहरु अनुमोदन गर्नेछ।
गत चैत दोस्रो साता बसेको मन्त्रिपरिषद् बैठकले आयोगमा रिक्त पदाधिकारी सिफारिस गर्न पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्षतामा ५ सदस्यीय सिफारिस समिति बनाएको थियो।
स्रोतका अनुसार दुई आयोगमा दलीय भागबण्डाका आधारमा नाम सिफारिस गरिएको छ। सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्षमा कांग्रेसका तर्फबाट गणेशदत्त भट्ट तथा सदस्यमा प्रचण्डमान श्रेष्ठ र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का तर्फबाट सदस्यहरुमा गोविन्द गौतम, मन दाहाल र विष्णु पोखरेलको नाम सिफारिस गरिएको छ।
त्यस्तै दलीय भागबण्डाकै आधारमा बेपत्ता व्यक्तिको छानबिन आयोगको अध्यक्षमा नेकपातर्फका युवराज सुवेदी तथा सदस्यमा विष्णु भण्डारी एवं कांग्रेसका तर्फबाट सदस्यहरुमा सुनिल रञ्जन सिंह, डा. गंगाधर अधिकारी र सरिता थापाको नाम सिफारिस भएको छ।
शनिबार बसेको प्रमुख दुई दलको बैठकले ऐन संशोधनको काम अघि बढाउने र सिफारिस समितिलाई नाम सिफारिस गर्न आग्रह गर्ने निर्णय गरेको थियो।
प्रधानमनन्त्री निवास बालुवाटारमा भएको बैठकमा सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस यस्तो सहमतिमा पुगेका थिए।
यही विषयलाई लिएर शुक्रबार पनि दुई दलबीच छलफल भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।