काठमाडौं- आसन्न स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनलाई ध्यानमा राखि नेपाल विद्यार्थी संघको केन्द्रीय कार्यसमिति यथासक्य छिटो गठन गर्न संघका कार्यकर्ताले माग गरेका छन्।
त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्ले स्ववियू निर्वाचन फागुन १४ का लागि तोकेको छ। स्ववियू निर्वाचनमा संघका नेता-कार्यकर्ता परिचालनका लागि संघको केन्द्रीय कार्यसमिति नहुँदा समस्या उत्पन्न हुने नेविसंघ त्रिवि इकाइका सभापति हरि आचार्यले बताए।
त्रिविको स्ववियू निर्वाचन गर्ने तालिकाप्रति स्वागत गर्दै संघका पूर्व सहमहामन्त्री बलदेव तिमिल्सिनाले नेविसंघले स्ववियू निर्वाचनमा विजयी हुन देशव्यापी रणनैतिक अभियान सन्चालन गर्नुपर्ने बताए। संघका पूर्व केन्द्रीय सदस्य सुशील भट्टले पार्टीले स्ववियूको महत्व नबुझ्दा त्यसको नकरात्मक असर निर्वाचन परिणाममा देखिन सक्ने भन्दै पार्टी नेतृत्वलाई सचेत गराए।
कीर्तिपुरमा शुक्रबार भएको अन्तक्रियामा विद्यार्थी नेता निरञ्जन थापाले पार्टी नेतृत्वको कारणले भ्रातृ संस्था कमजोर हुँदै गएको प्रति चिन्ता प्रकट गरे। गत वर्ष रोकिएको स्ववियू निर्वाचन यस वर्ष गर्नका लागि त्रिवि कार्यकारी परिषद्ले फागुन १४ को दिन तोकेको छ।
कांग्रेस निकट नेविसंघ विगत १ वर्षदेखि कार्यसमितिविहीन छ। संघको कार्यसमिति गठन नहुँदा निर्वाचन परिणाम नेविसंघ अनुकूल नहुने भन्दै विद्यार्थी नेताहरुले चिन्ता व्यक्त गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।