जनकपुर- समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नाम मात्रको संघीयताले परतन्त्रताको अन्त नहुने बताएका छन्।
पार्टीकाे शुक्रबार सुरु भएकाे तीन महिने संगठन विस्तार तथा सुदृढिकरण अभियानको जनकपुरमा शुभारम्भ गर्दै अध्यक्ष यादवले मधेस जनविद्रोहले उठान गरेको संघीयताको मर्ममाथि कुठाराघात गर्दै शासक वर्गले आफ्नो वर्चस्व कायम राख्ने गरी ल्याएको संघीयताले शोषित पीडित वर्गको उत्थान सम्भव नरहेको बताए। उनले भने, ‘मधेस आन्दोलनले अधिकार सम्पन्न संघीयता, पहिचानमा आधारित राज्य र साधन स्रोत सम्पन्न प्रदेश मागेको थियो। तर, अहिलेको संघीयताले ती मुद्दाहरुलाई सम्बोधन गर्न सकेको छैन।’
संविधान संशोधन नभएसम्म मधेसी, आदिवासी, जानजाति, दलित, मुस्लिम र महिलाले स्वतन्ताको अनुभूति गर्न नसक्ने उल्लेख गर्दै उनले त्यसको लागि त्यसको पुनः संघर्षको आवश्यकता रहेकोले पार्टी संगठन विस्तार तथा सुदृढिकरणमा जुटेको बताए।
अबको तीन महिना पार्टीलाई समय दिन नेता-कार्यकर्ताहरुलाई निर्देशन दिँदै उनले अभियानमा नजुटनेलाई पार्टीले त्यही अनुरुप मूल्यांकन गर्ने भन्दै सचेत गराए।
कार्यक्रममा पार्टीका केन्द्रीय उपाध्यक्ष रेणु यादवले मुलुकमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली र प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली लागू नभएसम्म समाजवादको परिकल्पना गर्न नसक्ने उल्लेख गरिन्। कार्यक्रममा पार्टीका राष्ट्रिय उपाध्यक्ष एवं प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले पार्टीको सम्पूर्ण संगठनलाई टोल-टोलसम्म विस्तार गरे मात्र समुन्नत संघीय समाजवादको परिकल्पनालाई साकार गर्न सकिने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।