काठमाडौं- सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा शीर्ष स्थानमा रहेको मछिन्द्र क्लब हिमालयन शेर्पा क्लबसँग पराजित भएको छ। हिमालयन शेर्पाको यो पहिलो जित हो। मछिन्द्रको पहिलो हार हो।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा हिमालयन शेर्पाले मछिन्द्रलाई २–० ले हराएको हो।
खेलको पहिलो मिनेटमा नै मछिन्द्रका पिटर सेगुनको आत्मघाती गोलबाट अग्रता बनाएको शेर्पाले २० औँ मिनेटमा विजय श्रेष्ठको गोलमार्फत अग्रता दोब्बर पारेको थियो। त्यसपछि दुवै टिमबाट गोल हुन सकेन।
लिगको शीर्ष स्थानमा रहेको मछिन्द्रले हिमालयन शेर्पाको खेलबाट अग्रता बढाउने अवसर गुमाएको हो।
हारपछि अहिलेसम्म ७ खेलमा ४ जित, २ बराबरी र १ हारसहित १३ अंक भएको मछिन्द्र दोस्रो स्थानमा झरेको छ। गएको वर्षको लिगमा अन्तिमबाट दोस्रोमा रहेकाले मछिन्द्रको एक अंक एन्फाको नियमअनुसार जारी लिगमा कम गरिएको हो।
शीर्षमा रहेको आर्मी क्लबको ६ खेलमा १३ अंक नै छ। गोल भिन्नतामा पनि दुवै क्लबको ५/५ रहेको छ। आर्मीले सातौँ चरणको खेलमा सोमबार च्यासलसँग खेल्नेछ।
७ खेलमा १ जित २ हार र ४ बराबरी खेलेको हिमालयन शेर्पा क्लबको ७ अंक रहेको छ।
लिग अन्तर्गत शनिबार दुई खेल हुनेछन्। पहिलो खेल जावलाखेल युथ क्लब र नेपाल पुलिस क्लब साथै दोस्रो खेल मनाङ मस्र्याङ्दी क्लब र थ्री स्टारबीच दशरथ रंगशालामा नै हुनेछ।
शुक्रबार दशरथ रंगशालामा हुने भनिएको खेल बर्षाका कारण एन्फा कम्प्लेक्स सातदोबाटो मैदानमा सारिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।