सोल- दक्षिण कोरियाका लागि श्रम सहचारी डिल्लीराम बाँस्तोलालाई सरकारले काठमाडाैं महानगरपालिकामा सरुवा गरेको छ। सन् २०१७ को डिसेम्बरमा श्रम सहचारीको जिम्मेवारीमा कोरिया आएका बाँस्तोला दुई वर्षे कार्यकाल पूरा गरी नेपाल फर्कन लागेका हुन्।
श्रम कन्सुलरको जिम्मेवारी पूरा गरी फर्कन लागेका बाँस्तोलाले नेपाली श्रमिकका समस्या न्यूनीकरणमा उच्चतम प्रयास गरेको नेपाल लाइभसँग बताए। कोरियाले १६ देशबाट कामदार भित्र्याउँदै आएको छ। ती देश मध्ये सञ्चयकोषको व्यवस्था छ देशका कामदारले मात्रै प्राप्त गर्दै आएका छन्। नेपालली कामदारले सञ्चयकोष प्राप्त गर्ने प्रावधान छैन।
छ देशका कामदारले प्राप्त गर्ने 'कुकमिन बोहम' (सञ्चयकोष)को सुविधाबाट नेपाली कामदारहरु बन्चित भएको तर्फ ध्यानाकर्षण भएको बास्ताेलाले बताए। दुई देशका सरकारबीच समझदारी भए नेपाली कामदारले समेत उक्त सुविधा प्राप्त गर्न सक्नेछन्। नेपालमा कार्यरत कोरियन नागरिकहरुलाई समेत नेपाल सरकारले सञ्चयकोषको व्यवस्था गरे नेपाली कामदारले पनि उक्त सुविधा पाउने गरी एमओयु हुन सक्ने बाँस्तोलाको बुझाइ छ।
रोजगारीकालागि आकर्षक गन्तव्यको रुपमा परिचित दक्षिण कोरियामा इपिएस प्रणाली र अन्य भिषामा गरी करिब ५० हजारको संख्यामा नेपालीहरु कार्यरत छन्। यहाँ कार्यरत सबै नेपाली श्रमिकका समस्या तथा गुनासा सुन्ने र समाधानकालागी पहल गर्न नेपाल सरकारले खटाएका एकमात्र श्रम व्यक्ति कन्सुलरका रुपमा बाँस्तोला थिए। फिलिपिन्स, बंगलादेशलगायत देशले आफ्ना कामदारको समस्या समाधान गर्न छुट्टै कार्यालय स्थापना गरी कन्सुलरको व्यवस्था गरेका छन्। नेपाली कामदारका समस्या समाधानका लागि दूतावासबाटै सेवा दिनेगरी एक व्यक्तिलाई जिम्मेवारी तोकिएको हुन्छ।
कोरियामा श्रम सहचारी भई जानुअघि बाँस्तोला इपिएस कार्यालय नेपालको निर्देशक थिए। ३७ वर्षे निजामती सेवा पुर्याएका बाँस्तोलाले नेपाल सरकारबाट प्रदान गरिने ५० हजार रुपैयाँ राशीको ‘निजामती सेवा पुरस्कार’ प्राप्त गरेका थिए। नेपाली श्रमिकका समस्या समाधानमा विशेष क्षमता प्रदर्शन गरे बापत उनीलाई कोरिया सरकारबाट ‘‘वेस्ट प्राक्टिस आउटस्ट्याण्डिङ अवार्ड’’ प्रदान गरिएकाे थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।