काठमाडौं- ब्राजिलियन स्टार फुटबलर रोनाल्डिन्होले स्पेनिस क्लब बार्सिलोनामा रहँदा लियोनल मेस्सीसँगको सम्बन्धबारे एक अन्तर्वार्तामा बताएका छन्।
‘म जब बार्सिलोनामा गएको थिएँ त्यहाँ एक युवा खेलाडीको बारेमा कुराकानी हुन थालिसकेको थियो। त्यसपछि त हामी सँगै खेलेर साथी नै भइहाल्यौँ। उनी पहिलेदेखि नै अरु खेलाडीभन्दा भिन्न थिए’ रोनाल्डिन्होले मेस्सीसँग दिन सम्झँदै भने।
सन् २००४ मा मेस्सी बार्सिलोनाको सिनियर टिममा आउँदा रोनाल्डिन्हो टिममा महत्वपूर्ण खेलाडी थिए। रोनाल्डिन्हो २००८ सम्म बार्सिलोनामा मेस्सीसँगै थिए।
मेस्सीले सिनियर टिमबाट गरेको पहिलो गोलमा उत्कृष्ट पास रोनाल्डिन्होले नै मिलाएका थिए। उनी भन्छन्– ‘उनको पहिलो गोलको लागि पास मिलाइदिन पाउनु मेरो लागि पनि राम्रो कुरा हो।’
‘सुरुवातमा आफैसँग खेलेको कोही खेलाडी विश्व फुटबलमा यसरी चम्कँदा वास्तवमै खुसी लाग्दो रहेछ। सुरुमा उसले मलाई स्पेनिस सिकाउँथ्यो र मैले उसलाई पोर्चुगिज भाषा सिकाउँथे। खेलमा कुरामा त उनीसँग सबै ज्ञान थियो मैले केही सिकाउनै परेन’ रोनाल्डिन्होले सम्झिए।
‘मलाई मेस्सीबारे मन परेको सबैभन्दा विशेष कुरा उनी निकै शान्त स्वभावका थिए। झगडामा मिसिने उनको बानी थिएन। उनी आफ्नो परिवारलाई विशेष महत्व दिन्थे र केही नजिकमा मान्छेसँग मात्रै खुल्थे।’
रोनाल्डिन्होको सम्झनामा बार्सिलोना समर्थकहरु अझै पनि गरिरहन्छन्। उनले बार्सिलोनाका लागि मात्रै होइन विश्व फुटबलमा नै नयाँ खेलशैलीको विकास गरिदिएका थिए। बार्सिलोनाबाट रोनाल्डिन्हो बाहिरिएपछि नै मेस्सीको ‘स्टार’ छबी अझ चम्किएको थियो।
रोनाल्डिन्हो भन्छन्– ‘म मेस्सी अहिलेसम्मकै राम्रो फुटबल खेलाडी हो त भन्दिन तर उनी उनको समयमा सबैभन्दा उत्कृष्ट पक्कै हुन्। म मेस्सीको लागि खुसी छु उनी मेरो साथी मात्र होइन, विश्व फुटबलमा एक महत्वपूर्ण खेलाडी हुन्।’
बार्सिलोनामा लगातार चम्किरहेका मेस्सी अहिले ३२ वर्षका भए। उनले फुटबलमा आफ्नो घट्दै गएको समय पनि राम्ररी बुझेका छन्। बार्सिलोना ला लिगामा राम्रो भइरहे पनि पछिल्ला वर्ष च्याम्पियन्स लिगमा कमजोर देखिएको छ। प्रशिक्षक एर्नेस्टो भालभर्देको बर्खास्ती र नयाँ प्रशिक्षक क्विके सेटियनको आगमनले यसपटक च्याम्पियन्स लिगमा केही राम्रो हुने आशमा समर्थकहरु छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।