काठमाडौं– संघीय संसद प्रतिनिधिसभा सभामुखको उम्मेदवार चयनका लागि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'बीच भेटवार्ता जारी छ। प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली कांग्रेसका नेताहरुसँगको छलफलपछि अध्यक्षद्वय छलफलमा जुटेका हुन्।
सभामुखको उम्मेदवारका लागि दुई अध्यक्ष आज सहमतिमा पुग्ने संकेत देखिएको छ। पूर्वएमालेबाट सभामुख बनाउनु पर्ने प्रधानमन्त्री ओलीको अपेक्षा र शक्ति सन्तुलनका क्रममा आफ्नो भागमा परेको पद नगुमाउने पूर्वमाओवादीका नेताको चाहनाले उम्मेदवार चयन गर्न सकस परेको थियो। संविधान सभा अध्यक्षसमेत रहेका सुवास नेम्वाङलाई सभामुख बनाइँदा आफूलाई सहज हुने प्रस्ताव प्रधानमन्त्री ओलीले प्रचण्डसँग राखेका थिए। प्रचण्ड तत्कालिन अवस्थामा सकारात्मक देखिए पनि उनी पक्षका अरु नेताको तीव्र दबाबका कारण निर्णय लिन समस्या परेको थियो।
वर्तमान उपसभामुख शिवमाया तुम्बाहाङ्फेले समेत सभामुखमा दाबी गरेपछि दुईपक्षीय तानातानमा रहेको सभामुख पद त्रिपक्षीय बनेको थियो। नेकपा माओवादीबाट सभामुखका लागि अग्नि सापकोटा, देव गुरुङ, पम्फा भुसाल, हरिबोल गजुरेल र जनार्दन शर्माले दाबी गरिरहेका छन्। तीमध्ये प्रचण्डनिकटसमेत रहेका सापकोटालाई सभामुख बनाउने कुरामा पूर्वएमाले नेताहरुको सहमति छैन।
उनीबाहेकको नाम अघि सार्न प्रधानमन्त्री ओलीले संकेत गरेको बुझिएको छ। सभामुखका लागि पम्फा भुसाल र हरिबोल गजुरेलको सम्भावना बढी रहेको नेकपा नेताहरुको बुझाइ छ। नेकपाका एक नेता भन्छन, ‘महिलालाई नेतृत्व दिनुपर्ने दबाबसमेत बढेको हुँदा पम्फा भुसालको सम्भावना सबैभन्दा बढी देखिन्छ।’
अरुको गल्तिको सजाय आफूले पाउन नहुने भन्दै उपसभामुख तुम्बाहाङ्फेले दाबी कायम राख्दै राजीनामा दिएकी छैनन्। तर, दुई अध्यक्षले नाम टुंग्याउनेबित्तिकै आफू राजिनामा दिन तयार रहेको उनले बताइरहेकी छन्। अध्यक्षद्वयले आजै नाम टुंग्याए उपसभामुख तुम्बाहाङ्फे पनि राजिनामा दिनेछिन्।
सभामुखकाे उम्मेदवार टुंग्याउन हिजाे पनि अध्यक्षद्वयबीच छलफल भएकाे थियाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।