काठमाडौं- सत्य निरूपण तथा मेलमिलाप विधेयकका सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससँग छलफल गरेका छन्।
प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा भएको छलफलमा द्वन्द्वकालीन मुद्दा सम्बाेधन गर्ने विधेयकका बारेमा नेताहरुले प्रधानमन्त्रीलाई परामर्श बैठकको ब्रिफिङ गरे। नेकपाका केन्द्रीय सदस्य खिमलाल देवकोटाले भने, ‘सातै प्रदेशमा भएका परामर्श बैठकको आधारमा विधेयकलाई अन्तिम टुंगोमा पुर्याएर संसदमा दर्ता गरी छिटो पारित गर्ने गरी छलफल भएको छ।’
विधेयकका सम्बन्धमा कानुन मन्त्रालयले पुस २८ मा सबै प्रदेशमा छलफल गरेको थियो। त्यसका लागि सत्तारुढ दलका दुई र प्रमुख प्रतिपक्ष दलका दुई नेता प्रतिनिधिका रुपमा खटिएका थिए। पीडितहरु र अन्य सराेकारवालासँग गरी दुई चरणमा प्रतिनिधिहरुले छलफल गरेका थिए।
देवकोटाले नेपाल लाइभसँग भने, ‘सातै प्रदेशमा भएको छलफल, त्यसको समीक्षा र निष्कर्ष जानकारी गरायौं।’ बैठकमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वसभामुख तथा नेकपा नेता सुवासचन्द्र नेम्बाङ, केन्द्रीय सदस्य देवकोटा, कांग्रेस नेताहरु डा मिनेन्द्र रिजाल र रमेश लेखक सहभागी थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।