राजविराज- प्रहरी ऐन तथा आचारणविरुद्ध काम गर्ने सप्तरीका ९ जना प्रहरी कारबाहीमा परेका छन्।
चालु आर्थिक वर्षको ६ महिनामा ३ असई, २ हवल्दार र ४ प्रहरी जवान कारबाहीमा परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी कृष्ण प्रसाईंले वताए। जिल्ला प्रहरी कार्यालय सप्तरीमा बिहीबार आयोजित पत्रकार भेटघाट तथा अन्तर्क्रिया कार्यक्रममा प्रहरीको आचरणविरुद्ध काम गरेको पाइएकाले उनीहरूलाई कारबाही गरिएको प्रसाईंले बताए।
कारबाहीमा परेकामध्ये असई जनक गौतम, कुम्भराज लिम्बू र प्रमोदप्रसाद साहलाई नसिहत दिइएको छ। प्रहरी हवल्दार रामेन्द्र महतो कोइरी र प्रहरी जवान सञ्जीत कार्कीको सुरुको तलब स्केलमा घटुवा गरिएको छ भने प्रहरी हवल्दार वीरेन्द्र मुखिया, प्रहरी जवान सन्देश राई र उमेश महरालाई नसिहत दिइएको छ।
प्रहरी जवान अर्जुन रत्नलाई ५ वर्ष तलब वृद्धि रोक्का गरिएको एसपी प्रसाईंले बताए।
१५ प्रहरी पुरस्कृत
यस अवधिमा राम्रो काम गर्ने १५ जनालाई पुरस्कृत गरिएको छ। इलाका प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी मकेन्द्र मिश्र, इन्स्पेक्टर प्रकाश बस्नेत र विष्णुप्रदीप बस्याल, सई मो. सागिर राइन, तथा असई चन्द्रकिशोर झा र अजुर्न महतो पुरस्कृत भएका छन्।
यसैगरी, प्रहरी हवल्दार बुमिनन्द खतिवडा, अजयकुमार झा, जमरुद्दीन मियाँ तथा प्रहरी जवानहरू पंकजकुमार यादव, बालकृष्ण यादव, नरसिंह चौधरी, गोविन्द पौडेल र अनिलकुमार चौधरीलाई नगदसहित पुरस्कृत गरिएको डिएसपी तिलक भारतीले जानकारी दिए।
कार्यक्रममा प्रहरीले ६ महिनाभित्र गरेका क्रियाकलापको जानकारी समेत दिइएको थियो। ६ महिनामा चोरी तस्करीका सामान नियन्त्रण गरी कुल ७९ लाख ५४ हजार २६४ रुपैयाँ संकलन गरिएको नियम विपरीत चलेका १३ हजार ३ सय ४२ सवारी साधनलाई कारबाही गरी ७९ लाख ८१ हजार ५ सय रुपैयाँ संकल गरिएको प्रसाईंले बताए।
यसैगरी फैसला कार्यान्वयनतर्फ ३७ र अपराध अनुसन्धानका क्रममा २४ गरी ६१ जना फरार अभियुक्त पक्राउ गरिएको छ। ३१ हजार ९८ गाँजाका बोट नष्ट गरिएको छ भने ३ हजार २ सय ४५ लिटर तयारी र ८ हजार २५ लिटर मदिराको कच्चा पदार्थ नष्ट गरिएको उनले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।