काठमाडौं- नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले विश्वविद्यालय सभाका ५१ प्रतिशतले विश्वविद्यालयका पदाधिकारी हटाउने प्रावधानले विश्वविद्यालयको स्वायत्ततामथि प्रहार गर्ने बताएका छन्।
संसदको शिक्षा तथा स्वास्थ्य समितिमा केही नेपाल ऐनहरूमाथि संशोधन गर्न चलेको छलफलमा सहभागी हुँदै सांसद थापाले यस्तो बताएका हुन्।
नियुक्त भएका पदाधिकारीलाई सरकार वा मन्त्रालयले दिएको कुनै निर्देशनको पालना नभएको अवस्थामा सरकारले चाहेको बेला हटाउन सक्ने प्रावधानले विश्वविद्यालयको स्वायत्ततामाथि प्रहार गर्ने थापाको भनाइ छ।
थापाले २ तिहाइले मात्रै हटाउन सक्ने संशोधनसहित पारित गराउन माग समेत गरेका थिए। सरकारले चाहेको बेलामा हटाउन सक्ने आधार निर्माण गर्नु गलत भएको बताउँदै उनले समितिका निर्णय नमान्ने भन्ने नहुने तर यो कुरा गलत भएको उल्लेख गरे।
बिहीबार समितिले विश्वविद्यालयको पदाधिकारी हटाउन ५१ प्रतिशत हुनुपर्ने प्रावधान राख्दै नेपाल ऐन पारित गरेको थियो।
समितिमा छलफलका क्रममा दुई तिहाइले मात्रै हटाउन सक्ने प्रावधान राख्न सुझाव आए पनि विश्वविद्यालय र उच्च शिक्षाको छाता ऐन आउने क्रममा भएका कारण तत्काललाई ५१ प्रतिशतले नै हटाउन सक्ने प्रावधान राखिएको समिति सभापति जयपुरी घर्तीले बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।