काठमाडौं- मनमोहन मेमोरियल राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिता (एमएम कप)मा सुदूरपश्चिम प्रदेशलाई ९९ रनले हराउँदै नेपाल पुलिस क्बल फाइनलमा पुगेको छ।
बिहीबार सुनसरीको इनरुवामा भएको खेलमा पुलिसले दिएको २ सय ३० रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले ३३.४ ओभरमा १ सय ३० रन बनाउँदा सबै विकेट गुमाएको हो।
सुदूरपश्चिमका किरण ठगुन्नाले ४६ बलमा ३९ रन, गजेन्द्र बोहराले १८ बलमा १२ रन, खडक बोहराले ४० बलमा १४ रन र आकाश चन्दले ३४ बलमा २३ रन बनाए। अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।
पुलिसका लागि सागर ढकालले ५ विकेट लिए। ६.४ ओभर बलिङ गरेका उनले ९ रन मात्र दिएर ५ विकेट लिएका हुन्। यस्तै ललित नारायण राजबंशीले ३ सातै ललित भण्डारी र योगेन्द्र सिंह कार्कीले एक–एक विकेट लिए।
यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको पुलिस क्लबले ४९ ओभरमा २ सय २९ रन बनाउँदा सबै विकेट गुमाएको थियो। पुलिसका लागि दिपेन्द्र सिंह ऐरीले अर्धशतक बनाएका थिए। उनले ७६ बल खेलेर ६८ रन बनाएका हुन्।
यस्तै अनिल साहले ३९ बलमा ३१ रन, योगेन्द्र सिंह कार्कीले ३३ बलमा २९ रन, कुशल भुर्तेलले १८ बलमा १७ रन, ललित भण्डारीले ४० बलमा ४० रन बनाएका थिए।
बुधबार भएको पहिलो सेमिफाइनलमा प्रदेश नम्बर ३ लाई ६४ रनले हराउँदै नेपाल आर्मी क्लब फाइनलमा पुगिसेको छ। फाइनल खेल शनिबार हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।