नेपाली कांग्रेसका केन्द्रीय सदस्य वीरबहादुर बलायर सभापति शेरबहादुर देउवानिकट नेता हुन्। देउवाको पक्षमा वकालत गर्ने पूर्वमन्त्री बलायर संस्थापनइतरले सभापतिलाई काम गर्नै नदिएको आरोप लगाउँछन्। हिजोको संस्थापन पक्षले फरक धारलाई पाखा लगाएको धारणा राख्ने बलायरले सभापति देउवाले त्यसो नगरेको दाबी गरेका छन्। १४ औं महाधिवेशनमा सभापतिमा पुनः देउवा उठ्ने संकेत पनि उनले गरे। नेपाललाइभका लिलु डुम्रेसँगको वार्ताका क्रममा बलायरले संस्थापनइतरमा पार्टी सञ्चालन गर्ने क्षमता भएको सभापति उम्मेदवार नै नभएको ठोकुवा गरे।
बलायरको धारणा उनकै शब्दमा :
कांग्रेसभित्र समस्या उत्पन्न गर्न कांग्रेसकै नेता लागेका छन्। उत्पन्न विवाद सभापति शेरबहादुर देउवाले निम्त्याएका होइनन्। निर्वाचित सभापतिलाई सहज रुपमा पार्टी सञ्चालन गर्न नदिनेहरुले विवाद ल्याएका हुन्।
महाधिवेशनबाट निर्वाचित सभापतिले बोलाएको केन्द्रीय समिति बैठकलाई बहिष्कार गर्न मिल्छ? सबै कुरा उनीहरुकै ९पौडेल र कृष्णप्रसाद सिटौला पक्ष० अनुसार नै हुने हो भने सभापतिको भूमिका के? जिल्ला सभापतिहरुको भेला बोलाएर निर्वाचित सभापतिविरुद्ध बैठक गरिएको छ। काठमाडौंमा भेला भएका सभापतिका विरुद्धमा उनकै पराजितले वा क्षेत्रीय सभापतिहरुले भेला गरे भने के हुन्छ.? हारेकाले पार्टी सञ्चालन गर्ने हो कि जितेकाले?
भ्रातृ संस्थामा बहुमत सदस्य उनीहरुलाई दिएर कुनै पनि संगठन सञ्चालन हुन सक्दैन। विभाग गठनका लागि पौडेलसँग १३ औं महाधिवेशन लगत्तै उनका पक्षको नाम मागिएको हो। त्यो बेला नाम दिएनन्। अहिले विभाग गठन गर्न लाग्दा उनलाई भनेकै विभागको नेतृत्व दिनुपर्ने रे। यो/यो विभाग मेरो पक्षलाई देउ भन्ने छ। संगठन, परराष्ट्र, जनसम्पर्क विभाग माग गरिरहेका छन्। ती विभाग उनीहरुलाई दिन्न सकिन्न।
देउवाको विरोधमा लागिरहेकाहरुले सहमतिसहित अघि बढ्ने भए स्पष्ट पार्नुपर्छ। पार्टीलाई अल्झाएर राख्न सकिदैंन। पौडेल त सभापतिमा हारेका व्यक्ति हुन्। पौडेल पक्षको यस्तो व्यवहारले भोलि उनकै पक्षका सभापति भए हामी कसरी मानौंला?
केन्द्रीय सदस्य तल्लो तहबाट निर्वाचित हुनुपर्ने विषय महासमितिमा उठेको हो। तर, केन्द्रीय समितिलाई जिम्मेवारी दिइएको हो। लिखित प्रस्ताव कुनै आएको थिएन। केन्द्रीय समितिको बैठकमा ८ जनाले नोट अफ डिसेन्ट लेखे। अरुले त लेखेनन्। बहुमतको खिलाफमा ८ जनाले नोट अफ डिसेन्ट लेखे। उनकै पक्षका अरु सदस्यले किन नोट अफ डिसेन्ट लेखेनन्?
पौडेल पक्ष वा सिटौला पक्षले पार्टी हितकै लागि कार्य गर्ने हो भने छिटो सभापतिसँग मिलेर अघि बढ्नुपर्छ। हिजोको अवस्थामा देउवा त कोइराला परिवारबाट प्रताडित हुन्। पार्टीबाट देउवालाई पनि निकालेकै हुन्। एउटा स्पष्टीकरण दिने मौका पनि गिरिजाप्रसाद कोइरालाले दिएनन्। पार्टी सभापति देउवालाई यिनिहरुले ९पौडेल सिटौला पक्ष० ले अनुदानमा बनाएका हुन् र? निर्वाचन जितेर सभापति भएका हुन्।
आफ्नै गुजारा गर्न नसक्नेले देश र जनताको गुजारा चलाइदिन यिनीहरुले सक्दैनन्। मैले बेला बेलामा भन्दै पनि आएको छु, सहमति वा पद्धतिमा चल्न सक्दैनौ भने जाउ। पार्टीलाई बन्दि बनाउने कार्य गर्न पाइन्न। पार्टी सञ्चालन हुन नसके महाधिवेशन नै हुन सक्दैन। महाधिवेशन हुन नसक्नु पार्टी खारेज हुनु हो।
हामी महाधिवेशनको खिलाफ गएकै थिएनौं।उनीहरु त महाधिवेशनकै खिलाफमा गए। निर्णय गर्ने प्रक्रियामा सहभागी नभएपछि महाधिवेशन नचाहेको देखिएकै छ। उनीहरु सभापतिसँग प्रश्न गर्छन, ‘के गरे देउवाले?’ हामी उनीहरुलाई सोध्छौं– कहिले देउवालाई काम गर्न दियौं र?’ पार्टीको जागरण अभियान त सहज सञ्चालन हुन दिएनन्। केन्द्रीय नीतिअनुसार देशभर भएको जागरण अभियानलाई नेताहरुले नै नौटंकी भन्दै हिडें। संस्थापन पक्षले प्रतिवाद गरेकै छैन। उनीहरुले एकोहोरो प्रहार गरिरहेका छन्। हामीले फर्काउने दिन स्थिति के हुन्छ? यसैअनुरुप एकोहोरो प्रहार गरिरहे हामीले पनि प्रतिवाद गर्नैपर्छ। सभापतिलाई गर्न पनि नदिने अनि गरेन पनि भन्ने। त्यस्तो भन्नेहरुले सानेपा छाडे हुन्छ।
उनीहरुकै नियत देउवालाई सकेसम्म पार्टीलाई सहज रुपमा सञ्चालन गर्न नदिने हो। देउवालाई कार्यकर्ता र जनतामा पंगु बनाउने उनीहरुको ध्याउन्न हो। सहमतिमा देउवालाई तपाई संरक्षक बनेर बस्नुस् भनि सभापतिमा नउठाउन सकिन्छ नि। तर, देउवा नउठ्नुको कारण सभापति रामचन्द्रलाई बनाउन त होइन। अर्को कुरा पेन्सनवालालाई पार्टी सभापति बनाउनका लागि पनि देउवाले छोड्न सक्दैनन्।
बाहिर कुरा गरेरमात्रै हुँदैन। व्यक्त विचारलाई व्यवहारमा उतार्न पनि सक्नुपर्छ। अब बोलेरमात्रै हुने दिन गए। नागरिकले परिणाम खोज्छन्।
सभापतिमा देउवा उठे फेरि पनि जित्ने निश्चित छ। रामचन्द्र सभापति भएर पार्टीको व्यवस्थापन हुनै सक्दैन। देउवा भन्दा दुई वर्ष उमेर बढी भएका रामचन्द्रलाई पगरी भिराएर अब जान त सकिदैन। रामचन्द्र कोटरीमा चल्ने व्यक्ति हुन्। हामीले भन्ने बेला आए भनौंला। उनको आर्थिक हैसियतका प्रश्न पनि उठाउँला। राजनीतिक नियुक्त गर्न परे परिवारभन्दा बाहिर जान उनी सक्दैनन्। आफ्नो छोराबाहेक दुनियाँमा उनले कोही देखेकै छैनन्। निर्वाचनमा पाँच जना उनकै समर्थक केन्द्रीय सदस्यले टिकट पाएनन्। देउवा निकटकाले पाए। पौडेल पक्षकाले किन पाएनन्? त्यसको जवाफ रामचन्द्रले दिनुपर्छ।
रामचन्द्रका पक्षका केही केन्द्रीय सदस्य फेरि फर्केर संस्थापनमै आउँदैछन्। उनको पक्षमा लाग्नु भनेको त पार्टीभित्र आफ्नो हैसियत अवसान गराउनु हो। वुद्धि, क्षमताले नेतृत्व गर्ने हैसियत भएका उनी होइनन्। आफ्नै गुजाराका लागि र्याल काढ्नेले देश जनतालाई कसरी सोच्न सक्छ? देउवाविरोधी खेमामा १४ औं महाधिवेशनका लागि सभापतिको उम्मेदवार नै छैनन्। रामचन्द्र पौडेल १४ औं महाधिवेशनका लागि सभापतिको उम्मेदवार पनि होइनन्। देउवालाई आरोप लगाएकै भरमा शशांक कोइराला पनि सभापति हुन सक्ने म देख्दिनँ। सिटौला पक्ष १४ औं महाधिवेशनमा रहँदैन। अधिवेशनभन्दा पहिले नै त्यो समूह सकिन्छ।
प्रतिपक्ष भूमिका कमजोर पार्टीभित्रैको असहयोगले भएको हो। कतिपय विधेयक फिर्ता कांग्रेसकै बलले भएको छ। विधेयकका विरुद्ध अभियान नै सुरु गर्यौं। आन्दोलनमा जाउँभन्दा पार्टीभित्रकै पक्ष मान्दैनन्। आन्दोलनमा जाने परिस्थिति सत्तापक्षले खडा गरेको छ।
हिजोको समयमा क्रियाशील सदस्यता विना आधार वितरण गरिएको थियो। सदस्यता/क्रियाशील सदस्यता वितरण महाधिवेशन प्रयोजनका लागि वितरण नगरि नहुने अवस्था छ। काठमाडौंमा भेला भएका जिल्ला सभापतिहरुले नै जथाभावी हिजो सदस्यता वितरण गरेका हुन्। मापदण्ड विना बाँडे। पहिले ‘वान डोर’ प्रणालीबाट जिल्ला सभापतिहरुले क्रियाशील सदस्यता वितरण गर्थे। अब त्यस्तो हुँदैन। देउवाको समयमा एउटा पनि क्रियाशील सदस्यता बाँडिएको छैन। पहिले कस्तो हुन्थ्यो भने मसँग चुनाव लडेको विद्राही उम्मेदवारको समेत नविकरण गरि पठाइएको थियो।
सकेसम्म मिलाउने प्रयास नै हुन्छ। मिल्न आउँदैनन् भने तिनिहरुलाई पर्खेर निर्णय रोकिँदैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।