काठमाडौं- मनमोहन मेमोरियल राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिता (एमएम कप)मा प्रदेश नम्बर ३ लाई हराउँदै नेपाल आर्मी क्लब फाइनलमा पुगेको छ।
बुधबार सुनसरीको इनरुवामा भएको खेलमा आर्मीले प्रदेश ३ लाई ६४ रनले हराएको हो। आर्मीले दिएको २ सय १७ रनको लक्ष्य पछ्याएको प्रदेश ३ ले ३८.१ ओभरमा १ सय ५२ रन बनाउँदा सबै विकेट गुमायो।
प्रदेश ३ का लागि कप्तान सुवास खकुरेलले १५ बलमा १५ रन, इशान पाण्डेले ३३ बलमा १७ रन, सोनु तामाङले ७५ बलमा ७४ रन बनाए। अरु ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्।
आर्मीका लागि सुशन भारीले तीन, शाहब आलमले दुई साथै बिक्रम शोब, हरि बहादुर चौहान, हरिशंकर झा र कुशल मल्लले एक–एक विकेट लिए।
यसअघि टस जितेर ब्याटिङ रोजेको आर्मीले ४६.३ ओभरमा सबै विकेट जाँदा २ सय १६ रन बनाएको थियो। आर्मीका लागि अनिल मण्डलले ७३ बलमा ४३ रन, रोहित पौडेलले ३७ बलमा २९ रन, राजेश पुलामी मगरले १५ बलमा १७ रन, भिम सार्कीले २८ बलमा १५ रन, कुशल मल्लले २६ बलमा ३७ रन, बिक्रम शोबले ३३ बलमा २४ रन साथै सुशन भारीले १४ बलमा १३ रन बनाएका थिए।
म्यान अफ दि म्याच बनेका कुशल मल्लले ३ हजार ५ सय रुपैयाँ पुरस्कार पाए।
प्रदेश ३ का गौतम केसीले चार साथै तिलक भण्डारी, नन्दन यादव र इशान पाण्डले दुई-दुई विकेट लिए।
दोस्रो सेमिफाइनलमा बिहीबार नेपाल पुलिस क्लब र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।