काठमाडौं- अस्ट्रेलियाले गएको वर्ष विश्वकपपछि पहिलो पटक एकदिवसीय क्रिकेट खेल्यो। कीर्तिमानी १० विकेटले विजयी भयो। त्यो पनि विश्व क्रिकेटमा बलियो मानिएको दोस्रो वरियताको भारतविरुद्ध उसैको मैदानमा।
भारतविरुद्ध अस्ट्रेलियाको खेल योजनाबद्ध देखियो। महत्वपूर्ण ब्याट्सम्यानविरुद्ध को बलरमार्फत कसरी बलिङ गराउनेदेखि, ब्याटिङमा कसरी बढ्ने र मैदानमा फेरिएको अवस्थालाई कसरी आफूअनुकुल पार्ने भन्ने योजना राम्रो देखियो।
भारतका लागि शिखर धावन र केएल राहुलले सय रनको साझेदारी गर्दा अस्ट्रेलियाका लागि लक्ष्य तीन सय रनभन्दा माथि पुग्ने देखिएको थियो। तर मिचेल स्ट्राक र पाट क्युमिन्सले अफमा पेलेको सुरुवाती ओभरभन्दा स्पीनर आएपछिको समय अलि सहज देखिएको थियो।
तर फिन्चको सुझबुझपूर्ण कप्तानीले भारतले चाहेको रन भने बन्न सकेन। आदम जाम्पाले केएल राहुललाई बलिङ गरिरहँदा सर्ट कभर र इक्स्ट्रा कभरमा दुई फिल्डर राखेर उनको ‘फ्ल्यिुड ड्राइभ’ सट रोक्ने काम गरे। त्यसपछि पनि विकेटका लागि फिन्चले देब्रे हाते धिमा गतिका बलर एस्टोन आगरलाई बलिङमा ल्याइहाले। नभन्दै उनले २८औँ ओभरमा राहुललाई आउट बनाइहाले।
राहुलको विकेटपछि नै फिन्चले आफ्नो बलियो फास्ट बलरको हातमा बल थमाए। क्युमिन्सले लगातार राम्रो लेन्थमा बल फालिरहे। त्यसले नै २९औँ ओभरमा नै धावनको विकेट लिन उनी सफल भए। र दुवै सेट ब्याट्सम्यान आउट भए।
भारतविरुद्धको खेलमा अस्ट्रेलियाले अपनाएको अर्को योजना हो, कोहलीविरुद्ध जाम्पा। कोहली क्रिजमा रहँदा धेरैको अनुमान थियो– पक्कै उनीविरुद्ध क्युमिन्स या स्ट्राकमार्फत बलिङ गराइनेछ। तर फिन्चले कोहलीको जिम्मा जाम्पातिर सुम्पिए।
फिन्चलाई थाहा थियो यसअघिको तीन खेलमा पनि कोहलीलाई जाम्पाले नै आफ्नो शिकार बनाइसकेका छन्। ३२औँ ओभरको पहिलो बलमा नै कोहलीले जाम्पाको सट बलमा लङ लेगको दिशामा छक्का हानिदिए। तर दोस्रो बलमा जाम्पा भारी परे र कोहलीको विकेट लिए। जाम्पाले आफ्नो बलमा रिटर्न क्याच आउट लिएपछि अस्ट्रेलियाको बलिङ अझ मजबुत देखियो।
कोहली १६ रनमा नै आउट हुनु अस्ट्रेलियाको बलियो बलिङको कारण नै थियो। जाम्पाले अहिलेसम्म कोहलीविरुद्ध सात इनिङमा बलिङ गरेका छन् जसमा उनले चार पटक कोहलीलाई आउट पारेका छन्। जसमा कोहलीले उनलाई १ सय २६ बलमा ९७ रन हानेका छन्।
कोहली आउट हुँदा भारत १ सय ५६ रनमा ४ विकेटको स्थितिमा थियो। अजस्थालाई बुझेका फिन्चले लगातार बलिङ परिवर्तन भइरहे पनि पुनः स्ट्राकलाई नै ल्याए। पहिलो ओभरमा रोहित शर्माले दुई चौका लगाएको उनको बल चाहेजस्तो स्वीङ भइरहेको थिएन। त्यसैलाई बुझेर उनले ‘क्रस सिम’ बल १४७.७ किलोमिटर प्रतिघन्टाको गतिमा गुड लेन्थमा गरेर मिड अफमा क्याच आउट बनाए।
त्यो अवस्था ३३औँ ओभरमा फेरिएको भए पनि क्रिजमा रहेका रिसब पन्त र श्रेयस ऐयरविरुद्ध स्ट्राक बलियो देखिए। ओभरको पाँचौँ बलमा नै उनले ४ रन बनाएर खेलिरहेका ऐयरलाई विकेटकिपरमार्फत क्याच आउट पारिदिए। त्यसले १ सय ६५ रनमा ५ विकेट गुमाएको भारतले सम्हालिने अवसर पाएन। अन्तिम ओभरतिरको योर्कर बलिङ त अझ तारिफयोग्य नै थियो।
२ सय ५६ रनको लक्ष्य पछ्याएर भारतविरुद्धको ब्याटिङमा अस्ट्रेलियाका डेभिड वार्नर र आरोन फिन्चले देखाएको खेलले त कीर्तिमानी इतिहास नै बनाइहाल्यो। वार्नरले १ सय १२ बलमा १७ चौका ३ छक्कासहित १ सय २८ रन साथै फिन्चले १ सय १४ बलमा १३ चौका र २ छक्कासहित १ सय १० रन बनाए।
भारतविरुद्ध एकदिवसीयमा सबैभन्दा बढी साझेदारी गरेका उनीहरुको ब्याटिङले नै भारतविरुद्ध उसैको भूमिमा सबैभन्दा ठूलो जित मिल्यो। भारतविरुद्धको शतकसँगै वार्नर अस्ट्रेलियाका लागि सबैभन्दा छिटो पाँच हजार रन पूरा गर्ने खेलाडी पनि बने। उनले १ सय १५ इनिङमा नै पाँच हजार रन कटाएका हुन्।
अस्ट्रेलियाले भारतविरुद्ध जे गरेको थियो सबै स्पष्ट थियो। बलिङ, फिल्डिङ र ब्याटिङ तीनै तहमा उनीहरु सम्हालिएका थिए। जसले भारतविरद्ध उसैको मैदानमा कीर्तिमानी जित निस्कियो।
२ सय ५० भन्दा धेरै रनको लक्ष्य बिनाविकेट भेटिएको यो तेस्रो पटक मात्र थियो। त्यो पनि अस्ट्रेलियाको सर्वाधिक अविजित साझेदारीको कीर्तिमानसहित। यसअघि इंग्ल्याण्डले २०१६ मा श्रीलंकाविरुद्ध २ सय ५६ रनको साझेदारी गरेको थियो भने २०१७ मा दक्षिण अफ्रिकाले बंगलादेशविरुद्ध २ सय ८२ रनको साझेदारीसहितको जित निकालेको थियो।
भारतविरुद्धको जितपछि वार्नरले फिन्चसँगको आफ्नो साझेदारी निकै राम्रो भएको प्रतिक्रिया दिए। २०१४ पछि ५९ खेलमा ओपनिङमा सँगै आएका फिन्च र वार्नरको खेल सुझबुझपूर्ण थियो।
‘हामी मैदानमा मात्रै होइन, मैदानबाहिर पनि राम्रो साथी हौँ। हामीलाई एकअर्काको खेल्ने शैली र आनीबानी राम्रोसँग थाहा छ। हामी सहृदयी कुराकानी मैदानमा र मैदानबाहिर पनि गरिरहेका हुन्छौँ। राम्रो साझेदारी हुनुमा यो सबै कारण छ जस्तो लाग्छ’ वार्नरले भनेका छन्।
तीन एकदिवसीयको सिरिजमा अब दोस्रो एकदिवसीय शुक्रबार भारत राजकोटमा हुनेछ। तेस्रो एकदिवसीय आइतबार बैंगलरुमा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।