काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले गरेका राम्रा कामका विषयमा समाचार नै नबन्ने गरेको गुनासो गरेका छन्।
नेपाल चेम्बर अफ कमर्सका व्यवसायीहरुसँगको भेटघाटका क्रममा प्रधानमन्त्री ओलीले त्यस्तो गुनासो गरेका हुन्।
सरकारले सडकलाई मानवमुक्त बनाएको प्रसंग उल्लेख गर्दै ओलीले अहिले सडकमा कुनै पनि मानिस बेवारिसे नभेटिने दाबी गरेका थिए।
‘पहिले पहिले बालबालिका कुकुरसँग लडाईं गरेर खानेकुरा टिपिरहेको देख्ने गरिन्थ्यो। यो सरकार आएपछि काठमाडौंका सडकमा बालबालिका छैनन्। उनीहरुलाई राख्ने, बस्ने, पढाउने प्रबन्ध मिलाइएको छ,' प्रधानमन्त्री ओलीले थपे, 'मान्छेहरु सडकमा लडिरहेका हुन्थे, झिंगा भन्किराख्या हुन्थ्यो, कुकुरसँग सुतिराख्या हुन्थ्यो, कुकुरले घाउ चाटिराख्या हुन्थ्यो तर आज त्यस्ता व्यक्तिहरु सडकमा छैनन्।'
सबै सडक बालबालिकालाई सरकारले उचित प्रबन्ध मिलाएको दाबी गरेका ओलीले भने, 'नेपाल भिखारीको देश होइन भन्दै आएका छौँ। कोही बेघर हुनुपर्दैन। ठग बेघरलाई घर पठाई दिने र साँच्चिकैको बेघरको प्रबन्ध सरकारले गर्दै आएको छ।’
तर सरकारले यति धेरै काम गर्दा पनि सञ्चारमाध्यमले भने कभर गरेको भन्दै उनले गुनासो गरेका हुन्। 'हामीले काम गरेका छौँ। त्यस्ता कामहरुको प्रशंसामा लेख्ने प्रशारण गर्ने टेलिभिजन छैन। त्यस्ता काम छाप्ने पत्रपत्रिका छैनन्। त्यस्ता काम प्रशंसा गर्ने मुटु भएका, मन भएका सम्पादक छैनन्। यदि छ्यास्सछुस्स कसैले लेखिहाल्यो भने पनि गाली खान्। राम्रा कुरा पनि गर्न थालिस् बिग्रन्छस् भन्छन्। सकारात्मक कुरा पनि गर्न थालिस् भन्ने आउँछन्।’
प्रधानमन्त्री ओलीले आफूले जहाजको कुरा गर्दा, रेलको कुरा गर्दा ठट्टाका रुपमा लिने गरिएको भए पनि अहिले काम भइरहेको स्मरण गरे।
‘मैले जहाजका कुरा गरेँ, पूर्व पश्चिम रेलका कुरा गरेँ, उत्तर दक्षीण रेलका कुरा गरेँ। अहिले त्यसको निर्माण भइरहेको छ। पहिले हामीलाई रोडको समस्या थियो। अहिले कोलकत्ता मात्रै होइन, विसखापट्टनम्, मुम्बई, पूर्व—पश्चिम सबै ठाउँबाट रोड छ। चीनसँग पनि हामीले विभिन्न सम्झौत गरेका छौं। धेरै नाका खुलिसकेका छन्,' उनले दाबी गरे, ‘हाम्रो समाज छाउपडी र छाउगोठवाला समाज हो। हामी कहाँ छौँ भन्दा छाउपडीवालाहरूको दुनियाँमा छौँ। तर त्यस किसिमबाट बाहिर आउनुपर्छ। सामाजिक जागरणमा अगाडि बढ्नुपर्छ।’
प्रधानमन्त्री ओलीले चेम्बरका व्यवसायीहरुलाई लगानीमैत्री वातावरण निर्माणका लागि ऐन कानुनमा संशोधन गर्नुपर्ने भए संशोधन गर्न तयार रहेको बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।