ओमान- उर्जा, जलस्राेत तथा सिंचाइमन्त्री वर्षमान पुनले ओमानका सुल्तान कावुस विन तारिक विन ताइमुर विन अल सइदको निधनप्रति नेपालका तर्फबाट ओमान सरकार तथा त्यहाँका जनताप्रति समवेदना प्रकट गरेका छन्।
अन्तर्राष्ट्रिय नवीरकणीय उर्जासंघ (आइरिना)काे १०औं साधारणसभामा सहभागी हुन यूएइको अबुधाबी पुगेका मन्त्री पुनले त्यहीँबाट ओमानको राजधानी मस्कट पुगेर समवेदना प्रकट गरेका हुन्।
मन्त्री पुनले राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट नवनियुक्त सुल्तान मौसुफ हाइतम विन तारिक विन ताइमुर अल सइदलाई भेटेर समवेदना प्रकट गरे।
मन्त्री पुनले राष्ट्रपति भण्डारीले पठाएकाे लिखित समवेदनापत्र सुल्तान हाइतमलाई हस्तान्तरण गरे। त्यस अवसरमा मन्त्री पनले ओमानको शान्ति, समृद्धि तथा निरन्तर प्रगतिको कामना गरे। साथै नेपाल र ओमानबीच विगत ४३ वर्षदेखि कायम रहँदै आएको मैत्रीपूर्ण कूटनीतिक सम्बन्ध आगामी दिनमा अझ प्रगाढ बन्दै जाने विश्वास व्यक्त गरे।
त्यस क्रममा सुल्तान हाइतमले नेपालका राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री पुनका साथै सम्पूर्ण नेपाली जनताका तर्फबाट समवेदना व्यक्त भएकाेप्रति धन्यवाद दिए। सुल्तान हाइतम विन तारिक विन ताइमुर अल सइदले नेपाल र ओमानबीच कायम रहेको मैत्रीपूर्ण सम्बन्धको प्रशंसा गर्दै आगामी दिनमा समेत सो सम्बन्ध थप प्रगाढ बन्दै जाने विश्वास व्यक्त गरे।
ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकाल, मन्त्री पुनका सचिवालय प्रमुखसमेत रहेका नेकपा केन्द्रीय सदस्य दुर्गाप्रसाद चापागाईं सहभागी थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।