भैरहवा– लर्ड बुद्ध अन्तर्राष्ट्रिय बहुउद्देश्यीय क्रिकेट रंगशाला बनाउन जग्गा खोजिरहेको धुर्मुस–सुन्तली फाउन्डेसनले रुपन्देहीका विभिन्न ठाउँको अवलोकन गरेको छ।
फाउन्डेसनको टोलीले भैरहवास्थित निर्माणाधीन सिद्धार्थ स्टेडियम तथा सैनामैना नगरपालिकाभित्र जग्गा अवलोकन गरेको छ। सैनामैना नगरपालिकाको आग्रहमा सैनामैना ७ लम्टरियामा रहेको ६५ बिगाहा जमिनमा रंगशालाको सम्भाव्यताबारे बुझ्दै उक्त स्थान उपयुक्त भएको ठहर गरेको छ। तर, यसबारे अन्तिम टुंगो लाग्न भने बाँकी छ।
जग्गा अवलोकनका लागि काठमाडौंबाट आएका कलाकार तथा फाउन्डेसनका संस्थापक सीताराम कट्टेल ‘धुर्मुस’ सहितको टोलीले सैनामैनास्थित लम्टरिया खेल मैदान उपयुक्त हुने ठहर गरेको हो। लम्टरिया भैरहवा विमानस्थलबाट करिब ३५ किलोमिटर र बुद्ध जन्मस्थल लुम्बिनीबाट १६ किलोमिटरको दूरीमा पर्छ।
स्थलगत अवलोकनको टोलीमा रहेका प्राविधिक रविभूषण झाले पनि लम्टरिया उपयुक्त हुनसक्ने बताए।
कट्टेलले ४० हजार दर्शक क्षमताको रंगशाला बनाउने तयारी रहेको र आफूहरुले निर्माण गर्ने भनेको रंगशालाका धेरै उद्देश्य यस क्षेत्रसँग मेल खाने भएकाले प्राविधिक परीक्षण सफल भए लम्टरिया क्षेत्र नै रोज्ने बताए।
नगरपालिकाका प्रमुख चित्रबहादुर केसीले बुद्धजन्मस्थल नजिकै रहेको, सडक र भूगोलका हिसाबले उपयोगी भएकाले यही क्षेत्रमा रंगशाला निर्माण गर्न आग्रह गरे। नगरपालिकाले रंगशालाका लागि जग्गा छनोट टुंगो लागे जग्गासँगै चालु आर्थिक वर्षमै एक करोड रुपैयाँ उपलब्ध गराउने समेत बताए।
रुपन्देही क्रिकेट संघको आग्रहमा सिद्धार्थनगरमा रहेको सिद्धार्थ रंगशालाको समेत अवलोकन गरेका कट्टेलले उक्त क्षेत्रफल आफूहरुले बनाउन खोजेको रंगशालाको उद्देश्य अनुसार पर्याप्त नभएको बताए। संघका अध्यक्ष प्रशान्त विक्रम मल्लको आग्रह अनुसार निर्माणाधीन सो रंगशालाका लागि आवश्यक सहयोग भने गर्ने कट्टेलले प्रतिबद्धता व्यक्त गरे।
टोलीले रंगशाला निर्माणबारे प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलसँग पनि छलफल गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।