सोमबार आयोजित एक कार्यक्रममा अभिनेत्रीले लक्ष्मी बर्देवाले फिल्म क्षेत्रमा प्रवेश गर्दाताका आफूले भोगेको दुर्व्यव्यवहारको कालो दिन सम्झिँदै भनिन्, ‘त्यतिबेला म धन्न बँचे। तर, थ्याङ्क गड! त्यसपछि पनि फिल्म क्षेत्र छाडिनँ।’ आफूले भोगेको तितो विगत सम्झदा उनको मुहारको चमक एक्कासी हरायो।
सन्दर्भ हो- नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित पत्रकार डिबी खड्काको पुस्तक ‘नियत’ सार्वजनिक कार्यक्रमको। बहसका निम्ति कार्यक्रममा उपस्थित थिए, तीन अभिनेत्रीहरू रेखा थापा, स्वस्तिमा खड्का र लक्ष्मी।
डिबीको पुस्तकमा खराब नियत बोकेका मान्छेका कारण नेपाली कला क्षेत्रमा महिला कलाकारले भोगेका दुःख र पीडाका कथा छन्, दुर्व्यवहारका फेहरिस्त छन्। त्यसैले पुस्तकको सन्दर्भसँग जोडेर फिल्म क्षेत्रले महिला कलाकारलाई हेर्ने दृष्टिकोणमाथि कार्यक्रमको बहस केन्द्रित थियो।
बहसका क्रममा अभिनेत्री बर्देवाले डिबीको यो पुस्तक पढेपछि आफूले विगतमा भोगेको दुर्व्यवहारको एउटा नमिठो घटना सम्झिएको बताइन्।
अडिसनका बहानामा एक जना फिल्म निर्देशकले आफूमाथि दुर्व्यवहारको प्रयत्न गरेको तर आफू बच्न सफल भएको खुलासा गरिन्।
करिब १० महिनाअघि अन्तर्वार्ताका क्रममा अभिनेत्री लक्ष्मी बर्देवासँग यो संवाददाताले प्रश्न गरेको थियो, ‘हाम्रो कला क्षेत्र ‘मिटु’का विषयमा लगभग मौनजस्तै देखियो। के यहाँ दुर्व्यवहार नै नहुने हो र?’
त्यतिबेला उनले भनेकी थिइन्, ‘हामीकहाँ मान्छेलाई भगवान् बनाउने चलन छ। भगवान् कस्तोलाई बनाइन्छ? अवश्य पनि त्यस्तोलाई बनाइन्छ, जो राम्रो ठाउँमा छ। र, उसको नराम्रो कुरा कसैले गर्यो भने ऊ त्यो क्षेत्रबाट बहिष्कृत हुन्छ। किनभने दुनियाँले देउता मानेको मान्छेलाई उसले आरोप लगाएको हुन्छ। हो, यसकै डरले यहाँ कोही बोल्न सक्दैनन्।’
सोमबारको कार्यक्रममा भने उनले त्यो घटनाको फेहरिस्त सुनाइनन्। यति भन्न सकिन्, ‘मैले एकपल्ट त्यस्तो खराब नियत बोकेको मान्छे सामना गर्नुपर्यो।’
धेरैमा जिज्ञासा जाग्यो- के भएको थियो लक्ष्मीसँग?
उनले पहिलोपल्ट त्यो घटना यो संवाददातासँग अन्तर्वार्ताका क्रममा खुलाएकी थिइन्। निर्देशकको मुकुन्डो भिरेर कालो कर्तुत गर्दै आइरहेका ती निर्देशकको व्यवहारले फिल्म क्षेत्रको पर्दाभित्र लुकेको एउटा अँध्यारो पाटो उजागर गरेको थियो।
०००
घटना साढे पाँच वर्षअघिको हो। लक्ष्मीलाई फिल्मको लागि अडिसन दिन भनेर बोलाइएको थियो। त्यतिबेला उनी उमेरले पनि कलिलै थिइन्, त्यस्तै १९-२०। अडिसन कहाँ-कसरी हुन्छ, खासै ज्ञान पनि थिएन।
उनले विश्वास गर्ने दाइमार्फत् नै त्यो अडिसनमा बोलाइएको थियो। अडिसनको लोकेसन थियो- काठमाडौं, गोठाटार। त्यो दिन दाइसँगै गएकी थिइन्, अडिसन दिन। खुशी थिइन्, अवसर पाएकोमा। आत्मविश्वास थियो, ‘पक्कै छनौट हुन्छु।’
गोठाटार, पुल नपुग्दै एउटा रिसोर्ट रैछ। त्यहीँ पुगिन् उनी। त्यहाँ त फिल्म क्षेत्रको एकदमै नाम चलेका निर्देशक रहेछन्। फिल्म बजारमा प्रचलित शब्दमा भन्नुपर्दा ‘चर्चित’। जसले दुई–तीनटा हिट फिल्म दिइसकेका थिए।
जतिबेला उनलाई भेटाइयो- रक्सी एकदमै पिएका थिए।
भेट्नासाथ उनले लक्ष्मीको प्रशंसामा भने, ‘तिम्रो फोटो हेरेको थिएँ, ठीकै छ। हामीलाई तीन जना लेडिज क्यारेक्टर चाहिएको छ। खेल्ने हो त? एउटामा तिमीलाई खेलाउन सकिन्छ।’
अडिसन दिन भनेर आएकी उनी फिल्म नखेल्ने त कुरै थिएन्। जवाफमा भनेकी थिइन्, ‘हुन्छ तर थिएटर र घरमा सोध्नुपर्छ।’
त्यसपछि ति निर्देशकले रिसोर्टको सहयोगीलाई बोलाए र ‘झ्याप’ मुडमै भने,‘भाइ, त्यो पछाडिको रुमको ताल्चा खोल त।’
रात पर्नै लागेको थियो। लक्ष्मी तर्सिइन्। भित्रभित्रै डराइसकेकी थिइन्। नयाँ थिइन्, त्यसैले फिल्म क्षेत्रबारे खासै केही जान्दिन थिइन्। आफूले विश्वास गर्ने पात्रका कारण त्यहाँ आइपुगेकी थिइन्।
त्यसैले रिसोर्टका सहयोगीलाई ताल्चा खोल्न लगाएपछि उनले लगत्तै ती निर्देशकलाई सोधेकी थिइन्, ‘किन?’
‘जवाफमा उसले मैले फिल्म खेलाइसकेपछि बदलामा केही पाउनुपर्छ’ भन्नेखालको कुरा गर्न थाल्यो,’ १० महिनाअघि त्यो घटना सम्झिदै लक्ष्मीले भनेकी थिइन्, ‘अझ साइडमा बसेको मान्छेले पनि ‘उहाँको पालो सक्किन्छ अनि मेरो पालो’ भनिरहेको थियो। त्यसपछि त म झन् थरथर काम्न थालेँ। रुन थालेँ। मलाई जसले बाइकमा लिएर जानुभएको थियो, उहाँ पनि गायब! सायद पहिल्यै केही सेटिङ भइसकेको थियो।’
उनले सुनाएअनुसार ती निर्देशक त्यतिबेला यत्तिमै रोकिएका थिएनन्। लक्ष्मीले सिधै प्रस्ताव 'इग्नोर' गरेपछि उनले धम्क्याउँदै भनेका थिए, ‘तँ फिल्म खेल्ने, तँलाई म यो इन्डस्ट्रीमा टिक्न पनि दिन्नँ।’
त्यतिबेला उनले नाम चलेका हिरोहरूलाई आफूले नै डेब्यु गराएको दम्भसम्म देखाएका थिए।
‘त्यसपछि मलाई पनि अलि आँट आएछ, सिधै ‘मलाई त यहाँ कसैले चिन्दैन,तर मैले अहिले चिच्चाएँ भने तपाईंलाई यहाँ सबैले चिन्लान्’ भन्दिएँ,’ लक्ष्मीले भनेकी थिइन्, ‘फेरि हामी त्यतिबेला रुममा छैनौँ है, बाहिर खुला ठाउँमै नै थियौँ।
मैले त्यो निर्देशकलाई एकदमै सम्मान गर्थें। एकाएक त्यो सम्मान त्यतिबेला हटेर गयो। मैले त उसको अनुहारमै थुक्दिएछु। मलाई ऊ मुख छाडिरहेको थियो। त्यसपछि म रुँदैरुँदै भागेँ।’
घटना भएको एक-दुई दिन लक्ष्मी पूरै ‘डिप्रेस्ड’ भइन्।
‘यो क्षेत्र मेरो लागि होइनजस्तो लाग्यो। तीन चार दिन काममा पनि गइनँ। साथीहरूले त्यसको कारण छोड्न लागेको? भनेर सम्झाएपछि फेरि ज्वाइन भएँ,’ लक्ष्मीले त्यतिबेला सुनाएकी थिइन्।
१० महिनाअघि भेट्दा लक्ष्मीले त्यो मान्छे छेउछाउ देख्दा आज पनि डर लाग्ने बताएकी थिइन्। भनेकी थिइन्, ‘त्यो मान्छेले मलाई यो क्षेत्रमा टिक्न नदिने कुरा गरेको थियो। त्यसैले मेरो एउटा सपना छ- कुनै दिन त्यो ऊ मेरो अगाडि फिल्मको अफर लिएर आओस् अनि मैले त्यो बेलाको घटना सम्झाउँदै मुखैभरको जवाफ दिन पाऊँ।’
हालसालकै एक अनौपचारिक भेटमा लक्ष्मीले खुशी साट्दै सुनाएकी थिइन्, ‘त्यो दिन आयो नि। मलाई त्यो मान्छेले फिल्मको अफर गर्यो नि। तर, मैले खेलिनँ।’
०००
बहसमा लक्ष्मीले डिबीको पुस्तक पढ्दा त्यहाँभित्र रहेका धेरै पात्रहरू दुर्व्यवहार भोगेपछि कला क्षेत्रबाटै टाढिएको सुनाउँदै भनिन्, ‘थ्याङ्क गड! त्यो घटनाले मलाई त्यति धेरै फ्रस्टेड पनि बनाएन ताकि मैले यो क्षेत्र नै छाडेर जानुपर्यो। त्यसपछि मलाई कहिल्यै पनि यो क्षेत्र छाडेर जानु मेरा लागि राम्रो हो भन्ने लागेन।’
कारण, २० असल मान्छे भेटेपछि उनले ती खराब भेटेकी थिइन्। ‘त्यसैले मैले पूरा फिल्म क्षेत्रलाई खराब ठान्न सकिनँ,’ उनले भनिन्, ‘तर, त्यतिबेला मलाई त्यो निर्देशकले बनाउने भनेको त्यो फिल्ममा देखिएका नयाँ अनुहारलाई लिएर डर भने लागेको थियो। कतै उहाँहरूलाई पो नराम्रो व्यवहार गरियो कि?’
पहिरन हेरेर चरित्र मापन
भनिरहनु परेन, यहाँ हिरोइनको पहिरन मिडियाका लागि गसिप हो। तर, पहिरनमाथि टिप्पणीलाई लिएर अभिनेत्रीहरू आजित छन्।
‘यहाँ मान्छेहरू पहिरनलाई हेरेर चरित्र मूल्यांकन गर्छन्,’ बहसमा रेखाले गुनासो पोको फुकाइन्, ‘कोही महिलाको पहिरन छोटो हुँदैमा, उसले स्विमिङ कस्ट्युम लगाउँदैमा या उसको हातमा बियर या वाइनको बोटल हुँदैमा उसलाई चरित्रहीनको दाग लगाइन्छ। हिरोइन पहिरन किन यति बिघ्न चरित्र नाप्ने यन्त्र हुन्छ?’
कुनैबेला नेपाली कमेडियनहरूले रेखाको छोटो कपडालाई व्यंग्य गर्दै पटकपटक गाइजात्रे प्रहसनका क्रममा खुब भन्थे ‘कि यहाँ रेखाको चल्छ, कि देखा’को चल्छ।’
यो भद्दा मजाकले रेखाको खुब चित्त दुखेको रहेछ। उनले व्यंग्यात्मक शैलीमा भनिन्, ‘पहिरनमाथि टिप्पणी गर्ने चलन गाइजात्राले सुरु गरेको हो। सायद उहाँहरूले राम्रै गर्नुभएको हो।’
अभिनेत्री स्वस्तिमा खड्काले हिरोइनहरूको पहिरनको चर्चा हुँदा उनीहरूको काम छायाँमा पर्ने गरेको गुनासो गरिन्। ‘यो फिल्म क्षेत्रमा आउनुअघि धेरे सुन्थे, कलाकारका पहिरनका कुरा। अझ विशेषगरी रेखा दिदी(थापा)को,’ उनले भनिन्, ‘यो कस्तो सस्तो चर्चा होला भन्ने लाग्थ्यो तर अहिले आएर थाहा भयो, मिडियालाई हिरोइनको पहिरनको बढी नै चासो हुनेरहेछ। यसो हुँदा उनीहरूको हिरोइनको काम भने छायाँमा पर्ने रहेछ।’
बहसका क्रममा स्वस्तिमाले आफूले हदैसम्मको दुर्व्यवहारको सामना गर्नु नपरे पनि फ्यानका बहानामा फोटो खिच्न आउने, टाँसिन खोज्ने, दुर्व्यवहार गर्न खोज्नेसम्मका पात्र भने व्योहोरेको बताइन्।
‘पुस्तकमा उल्लेख भएजस्तो हदैसम्मको दुर्व्यवहार त मैले सामना गर्नुपरेन तर संघर्षका बेला म्यूजिक भिडिया गर्ने क्रममा चाँहि सोसियल मिडियामा अनावश्यक म्यासेज पठाउनेहरू हुन्थे। म तत्कालै त्यस्ता आइडीहरू 'ब्लक' गरिहाल्थेँ,’ उनले सुनाइन्।
‘पुरुषका दर्दनाक कथा भन्ने पुस्तक पनि चाहियो’
अभिनेत्री रेखा थापाले महिला उत्पीडनमा परेका खबर धेरै आएको तर यही समयमा पुरुषमाथि भइरहेका शोषणका कथा भने ओझेलमा परेको टिप्पणी गरिन्।
‘यहाँ महिलामात्रै पीडित छैनन्, पुरुष पनि पीडित छन्,’ उनले बहसका क्रममा भनिन्, ‘हामी ती पुरुषका पीडा लेखिएका किताब पनि पढ्न चाहन्छौं। हो, हामी साँच्चै ति पुरुषका दर्दनाक कथा पनि पढ्न चाहन्छौं।’
पुस्तकका लेखक डिबी खड्काले रेखाको प्रत्युत्तरमा भनेका थिए, ‘मेरो पुस्तकमा रहेको ‘सहरमा एक मजनु’ शीर्षकको कथा गायिकाबाट पीडित पुरुषको कथा हो। मलाई लाग्छ, हाम्रो समाजमा एउटा पुरुष पीडित हुनका लागि उसले धेरै तत्वहरू व्योहोर्नुपर्छ तर महिला पीडित हुनका लागि महिला मात्रै भए पुग्छ।’
कार्यक्रममा रेखाले राजनीतिकदेखि कला क्षेत्र सबैमा ‘डबल स्ट्यान्डर्ड'का नियत भएका मान्छे रहेको टिप्पणी गर्दै भनिन्, ‘मेरो प्रश्न समाजलाई छ, तपाईँहरू जुन नियतले कलाकारलाई हेर्नुहुन्छ, त्यसरी नै आफ्नो छोरीचेलीलाई त हेर्नुहुन्न?’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।