काठमाडौं- लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर र औषधि विभागको संयुक्त टोलीले ४४ कार्टुन अवैध लागुऔषध बरामद गरेको छ। सोमबार प्रहरी र विभागको संयुक्त टोलीले काठमाडौंको ढल्कुबाट सो परिमाणको लागुऔषध बरामद गरेको हो।
सो परिमाणको लागुऔषध लुकाई छिपाई राखेको आरोपमा हालसम्म ४ जना पक्राउ समेत परेका छन्। तर मुख्य अभियुक्त भनिएका पुरुपोत्तम भणडारी भने अझसम्म फरार छन्। प्रहरीले भण्डारीका नाममा उपस्थित हुन पत्र थमाएको जानकारी दिएको छ।
लागुऔषधको अवैध कारोबार गरेको आरोपमा २ दिनअघि प्रहरीले २ जनालाई पक्राउ गरेको थियो। उनीहरुले अर्की एक युवतीसँग सम्पर्क हुने र उनले नै आफूहरुलाई लागुऔषध ल्याएर दिने गरेको बताएपछि ती युवती पनि पक्राउ परेकी छन्। युवतीले कृषासुर ड्रग्स हाउसबाट लागुऔषधको कारोबार गर्ने गरेकी थिइन्।
युवतीसँगै सो ड्रग्स हाउसका कर्मचारीसमेत पक्राउ परेका छन्। पक्राउ परेकी युवतीलगायतसँग सोधपुछ गरी अवैध लागुऔषध कारोबारमा भण्डारी नै मुख्य योजनाकार रहेको निष्कर्षमा प्रहरी पुगेको हो। तर पक्राउ परेका चारै जनाको परिचय भने प्रहरीले सार्वजनिक गरेको छैन।
उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। मुख्य आरोपी भण्डारी कृषासुर ड्रग्सका संचालक समेत हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।