काठमाडौं- स्पेनिस सुपर कपको फाइनलमा एथ्लेटिको मड्रिडविरुद्ध १ सय १५ औँ मिनेटमा अल्भारो मोराटालाई लडाएर रातो कार्ड पाएका रियल मड्रिडका फेडे भालभर्देले लडाउनुको विकल्प नभएको भन्दै माफी मागेका छन्।
टाइब्रेकरसम्म पुगेको फाइनलमा रियल मड्रिडले एथ्लेटिको मड्रिडलाई ४–१ ले हरायो। निर्धारित ९० मिनेट र थप ३० मिनेटमा पनि गोल हुन नसक्दा रियल टाइब्रेकरमा बलियो देखियो।
त्यसअघि १ सय १५ औँ मिनेटमा मोराटले एक्लै गोलका लागि बल बढाइरहँदा भालभर्देले लडाएर टिमलाई बचाएका थिए। लगत्तै उनी रातो कार्ड पाएर बाहिरिए।
साउदी अरबमा रहेको ६२ हजार दर्शक क्षमताको ‘किङ अब्दुलाह स्पोर्टस् सिटी’को मैदानमा भएको फाइनलमा रियल मड्रिडले ६६ प्रतिशत समय बलमा नियन्त्रण बनाए पनि गोलको अवसर सदुपयोग गर्न सकेको थिएन।
पेनाल्टीमा जितेको रियल मड्रिडको जितमा टिमका लागि रातो कार्ड पाएका भालभर्दे भन्छन्– ‘म मोराटासँग माफी माग्न चाहन्छु। मैले जे गरेँ त्यो राम्रो होइन तर त्यसो गर्नुको विकल्प थिएन। अहिले उपाधि जितेपछि म खुसी छु।’
.jpg)
रातो कार्ड पाएर बाहिरिए पनि खेलको म्यान अफ दि म्याच भालभर्देले नै पाएका थिए। ‘उनले म्यान अफ दि म्याच पाउँदा मलाई खुसी लाग्यो, खेलभर उनले निकै राम्रो गरेका हुन्’ प्रशिक्षक जिदानले भनेका छन्।
त्यसले रियल मड्रिडलाई विभिन्न प्रतियोगितामा गरेर ९ फाइनलमा लगेका प्रशिक्षक जिनेदिने जिदानले ९ वटै जित दिलाउन सकेका छन्। २०१६–१७ को ला लिगासहित १० उपाधि जिताएका जिदानले ९ वटा उपाधि त फाइनल भिडन्तबाट जितेका छन्।
.jpg)
२०१६ को च्याम्पियन्स लिग, २०१६ मा नै युइएफए सुपर कप र क्लब विश्वकप, २०१७ मा च्याम्पियन्स लिग, युइएफए सुपर कप, स्पेनिस सुपर कप, क्लब विश्वकप, २०१८ मा च्याम्पियन्स लिग र अहिले स्पेनिस सुपर कप जस्ता उपाधि जिदानले दिलाएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।