धनगढी- सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले कैलालीस्थित बाह्र वनको व्यवस्थापन समिति परिवर्तन गर्न निर्देशन दिएको छ।
वनमा आर्थिक अनियमितता भएको भन्दै छानबिन थालेको मन्त्रालयले झन्डै ९ महिनापछि व्यवस्थापन समिति परिवर्तन गर्न डिभिजन वन कार्यालय धनगढीलाई निर्देशन दिएको हो।
मन्त्रालयमा पेस भएको बाह्र वनसम्बन्धी अध्ययन प्रतिवेदनका आधारमा गत बिहीबार मन्त्रालयले ७ बुँदे निर्णग गर्दै उक्त निर्देशन दिएको हो।
बाह्रवन साझेदारी वनको व्यवस्थापन समिति आउँदो असारभित्र परिवर्तन गरिसक्न निर्देशन भएको मन्त्रालयले जानकारी दिएको हो।
व्यवस्थापन समितिको लामो समयदेखि पटक–पटक म्याद थपिएको भन्दै डिभिजन कार्यालयलाई समिति परिवर्तन गर्न निर्देशन दिएको मन्त्रालयका सूचना अधिकारी भरतप्रसाद श्रेष्ठले जानकारी दिए।
छानबिन प्रतिवेदनमा उल्लेख भएअनुसार बाह्रवनले विभिन्न निकायलाई दिइएको १ करोड ५ लाख र ०७५/०७६ मा ५८ लाख पेस्की रकम समेत असुल गर्न निर्देशन भएको श्रेष्ठले बताए।
.jpg)
वनको खाता सरकारी स्वामित्वको बैंकमा खोल्न, मौज्दात काठ–दाउरा साझेदारबीच बाँडफाँट गर्न, विधान, कार्ययोजना, विद्यामान नियम कानुनको परिधिभित्र रही कार्य सम्पादन गर्न समेत मन्त्रालयले निर्देशन दिएको हो।
२०७५ साल २७ चैतमा डिभिजन वन कार्यालय कैलालीले बाह्रवन साझेदारी वनको व्यवस्थापन समितिलाई कुनै पनि काम नगर्न पत्रचार गरेको थियो। गत चैत्रबाट साझेदारी वनको खाता पनि रोक्का थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।