काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का केन्द्रीय सदस्य तथा बागमती प्रदेशका सांसद पशुपति चौलागाईंले पार्टी नेतृत्व हेटौंडालाई राजधानी बनाउन लागिपरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।
नेकपाको केन्द्रीय सदस्य तथा प्रदेशसभा सदस्य भई हेटौंडा राजधानी बनाउने निर्णयमा सहमति जनाउनु पर्दा दुःख लागेको सामाजिक सञ्जालमा लेखेका छन्।
प्रदेशको राजधानी काभ्रेमा राख्ने प्रस्तावमा मत दिन नसकेको प्रति क्षमायाचना समेत गरेका छन्।
‘संविधानको भावना, भूगोल, जनसंख्या, सशस्त्र र शान्तिपूर्ण जनआन्दोलनको माध्यमबाट प्राप्त संघीयताको मर्मविपरीत आज मैले मेरै विरूद्ध समेत मतदान गरें,’ उनले उल्लेख गरेका छन्।
पार्टी नेतृत्वप्रति आक्रोश व्यक्त गरेका चौलागाईंले संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासको चरणमा नेतृत्वबाट साथ नपाएको गुनासो गरे।
‘स्वर्गीय मदन भण्डारीकी जीवनसाथी सम्माननीय राष्ट्रपति, झापा आन्दोलनको एक संस्थापक युगपुरूष प्रधानमन्त्री तथा पार्टी अध्यक्ष र सशस्त्र विद्रोहका नायक पार्टी अध्यक्ष भएको बेला समेत मैले जनमतको भावनाको प्रतिनिधित्व गर्न पाइनँ,’ उनको गुनासो छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।