काठमाडौं- प्रतिनिधिसभाको बैठक माघ ६ गतेसम्मका लागि स्थगित भएपछि कतिपय नेताहरुले सामाजिक सञ्जालमा असन्तुष्टि जनाएका छन्।
उनीहरुले सामाजिक सञ्जाल ट्विटरमा प्रतिनिधिसभा नेकपाको बन्धक बनेको बताएका छन्।
पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका सांसद बाबुरामा भट्टराईले गुटीय खिचातानीका कारण प्रतिनिधिसभा पंगु भएको भन्दै प्रश्न उठाएका छन्।
उनले ट्विटमा लेखेका छन्, 'हिजो दलीय खिचातानीले संविधानसभा/संसद बन्धक बन्दा अन्तरिमकाल र सहमतिको राजनीति भनेर चित्त बुझाइयो। तर आज नियमित संविधान र एउटैदलको स्पष्ट बहुमत हुँदा गुटीय खिचातानीका कारण प्रतिनिधिसभा पंगु/निष्काम हुने र बैठक सरिरहने? जनप्रतिनिधि मुकदर्शक भइरहने? यही हो लोकतन्त्र? अझै कम्युनिज्म? धन्य कणहरू!

त्यस्तै, नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले नेकपाभित्रको स्वार्थको बेमेलको बन्धक संसदलाई बनाउनु निन्दनीय भएको बताएका छन्।
उनले उपसभामुखलाई आग्रह गर्दै भनेका छन्, 'संसद कुनै दलको छाया होइन, तपाईं संसदको उपसभामुख हो, नियमानुसार सदनको प्रकृया अगाडि बढाइयोस्।'
.jpg)
यसैगरी नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पनि प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई मेन्सन गर्दै दलगत अनिर्णयको बन्दी प्रतिनिधिसभालाई निरन्तर बनाउने अकर्मण्यता आपत्तिजनक भएको बताएका छन्।
'जनताको आस्थाको थलोलाई `पोलिट ब्युरो´ को बन्धनबाट तत्काल मुक्त गर्नोस्', उनले आग्रह गरेका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।