पूर्वसभामुख महराको बलात्कार उद्योग मुद्दामा अन्तिम सुनुवाइ सुरु

नेपाल लाइभ | २०७६ पौष २७ आइतबार | Sunday, January 12, 2020 १४:०६:०० मा प्रकाशित

काठमाडौ- पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध जिल्ला अदालत काठमाडौमा विचाराधीन जबर्जस्ती करणी उद्योगको मुद्दामा अन्तिम सुनुवाइ सुरु भएको छ। 

जिल्ला न्यायाधीश अम्बरराज पौडेलको बन्द इजलाशमा महराको अन्तिम सुनुवाइ आइतवारवाट सुरु भएको हो। महराको मुद्दा तेस्रो नम्वरमा पेशी छ। 

संसद सचिवालयमा कार्यरत कर्मचारीलाई जबर्जस्ती करणी गर्ने प्रयास गरेको आरोपमा पुर्पक्षाका लागि थुनामा रहेका पूर्वसभामुख महराको पक्षका कानुन व्यवसायीले बहस गर्नेछन्। 

महराको बकपत्र सुरु भएको छ। उनलाई जिल्ला अदालत काठमाडौंमा बकपत्रका लागि उपस्थित गराइएको हो। यसअघि उनलाई पुर्पक्षका लागि थुनामा पठाउने न्यायाधीश सुर्दशन पाण्डे उच्च अदालतको न्यायाधीश भएपछि अर्का न्यायाधीश पौडेलको इजलाशले बकपत्र गराएको थियो। 

सरकारी वकिल र अन्य साक्षीको बयान समाप्त भएपछि अन्तिम सुनुवाइको पेशी तोकिएको थियो। महराका वकिल र सरकारी वकिलले आ–आफ्नो बहस गरेपछि जिल्ला अदालतले फैसला सुनाउने छ। महरा पक्षका कानुन व्यवसायी धेरै भएकाले केही दिन लाग्ने अनुमान जिल्ला अदालतले गरेको छ।

जिल्ला न्यायाधीश पाण्डेको इजलाशले जबर्जस्ती करणी उद्योगमा उनलाई मंसिर ६ गते पुर्पक्षका लागि थुनामा पठाएको थियो। जिल्ला अदालतको आदेशले उनी डिल्लीबजार कारागार बसिरहेका छन्। यसअघि महरा धरौटीमा छुट्ने आस गर्दै उच्च अदालत पाटनसम्म पुगेका थिए। तर उच्चले धरौटीमा छोड्नेभन्दा एक महिना छिटो किनारा गर्न आदेश गरेको थियो। 

संसद सचिवालयकी कर्मचारीलाई उनको कोठामा पुगेर बलात्कार गर्ने प्रयास गरेको आरोपमा महराविरुद्ध मुद्दा दायर भएको थियो। सभामुखवाट राजीनामा दिएका र सांसद पदबाट निम्लबनमा परेका उनले आफूविरुद्ध लागेको आरोप अस्वीकार गर्दै आएका छन्। उनी जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पाटन पनि पुगेका थिए। उच्चले जिल्लाको आदेश मगाउनेबाहेक अर्को सुनुवाइ गरेको छैन।

 तत्कालीन अवस्थामा प्रमाणहरू प्राप्त भएको भन्दै अदालतले उनलाई थुनामा पठाएको थियो। महराविरुद्ध बलात्कार प्रयासमा ५ वर्ष र विशिष्ट व्यक्ति भएकाले थप साढे २ वर्ष गरी साढे ७ वर्षसम्मको कैद सजाय माग गरिएको छ। उनले आफू बलात्कारका लागि नभई सम्झाउन पुगेको तर आफूमाथि गलत आरोप लगाएको भन्दै आफ्नो बचाउ गर्दै आएका छन्।

महराले आरोपीसँग अभिभावकको सम्बन्ध भएको स्वीकार गर्दै यस्तो आरोप किन लगाइन् त्यसबारे आफू अनभिज्ञ रहेको दाबीसमेत अदालती बयान दिएका छन् । बलात्कार प्रयासको आरोप लागेपछि उनलाई गत असोज १९ मा पक्राउ गरेर प्रहरीले अनुसन्धान थालेको थियो।