काठमाडौं- सहिद स्मारक ‘ए’ डिभिजन फुटबल अन्तर्गत आइतबार भएको पहिलो खेलमा फ्रेन्ड्स क्लबले थ्री स्टारलाई हराएको छ। जारी लिगमा ६ खेलमा फ्रेन्ड्सको यो पहिलो जित हो।
दशरथ रंगशालामा भएको खेलमा थ्री स्टारविरुद्ध वाग्नेर डि कार्मोले १३औँ मिनेटमा गरेको गोल फ्रेन्ड्सका लागि निर्णायक बन्यो। ६२ प्रतिशत समय बलमा नियन्त्रण बनाए पनि थ्री स्टारले गोल गर्न भने सकेन। अट्याकमा कमजोर देखिएको थ्री स्टारले केही अवसर भने खेर फालेको थियो।
जितसँगै फ्रेन्ड्स दुई स्थान माथि उक्लिएको छ। ६ खेलमा १ जित ३ हार र २ बराबरीसहित ५ अंक भएको फ्रेन्ड्स ११औँ स्थानमा छ।
फ्रेन्ड्ससँगको हारले थ्री स्टारले भने अंक तालिकामा दोस्रो स्थानमा उक्लने अवसर गुमाएको छ। ६ खेलमा ३ जित २ हार र १ बराबरीसहित १० अंक रहेको थ्री स्टार चौथो स्थानमा छ।
आइतबार नै दिउँसो ३ बजे दशरथ रंगशालामा नै ब्रिगेड ब्वाइज क्लब र सरस्वती युथ क्लब बीच खेल हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।