काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय गणतन्त्रमा पनि पृथ्वीनारायण शाहका दृष्टिकोण सान्दर्भिक भएको बताएकी छन्।
२९८औं पृथ्वीजयन्तीका अवसरमा सन्देश दिँदै राष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन्।
‘जनचाहनालाई सर्वोपरि ठान्ने पृथ्वीनारायण शाहका जीवन्त दृष्टिकोणहरू मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि पनि सान्दर्भिक भएकाले आजको यस ऐतिहासिक दिनमा राष्ट्रिय एकतालाई थप सुदृढ पार्दै सदाचार र सुशासनलाई अझ बलियो बनाएर समृद्ध, स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने दिशामा सम्बद्ध सबै पक्ष परिचालित हुनुपर्ने कुरा महसुस गरेको छु,’ उनले आफ्नो सन्देशमा भनेकी छन्।
पृथ्वीनारायण शाहको जन्मयन्तीका अवसरमा अनौपचारिक रुपमा आज पृथ्वीजयन्ती तथा एकता दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पनि शाहको जन्मदिनका अवसरमा उनीप्रति श्रद्धासुमन व्यक्त गरेका छन्। ‘नेपाल राज्यको एकीकरणमा हाम्रा पूर्खाहरुको नेतृत्व गर्ने राजा पृथ्वीनारायण शाहको जन्मदिनका अवसरमा उहाँप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछु,’ ओलीले ट्वीट गर्दै लेखेका छन्, ‘ नेपाल राष्ट्रको यश अभिबृद्धि, विकास, समृद्धि र शान्तिको जनआकांक्षा पूरा गर्न एकजूट भएर अघि बढ्न सबैमा हार्दिक आह्वान गर्दछु ।’
विसं १७७९ मा गोरखामा जन्मिएका पृथ्वीनारायणले २२ से र २४ से राज्यमा विभाजित नेपाललाई ‘एकीकरण’ गरेका थिए।
पृथ्वीनारायण शाहका भनाइ समेटेर ‘दिव्योपदेश’ प्रकाशित भएको छ। तर, अहिले त्यसको आधिकारितकताबारे प्रश्न उठाइने गरिएको छ।
उनको निधन विसं १८३१ माघ १ गते नुवाकोटको देवीघाटमा भएको थियो। राजतन्त्रकालमा पृथ्वीजयन्तीमा पहिले सार्वजनिक बिदा दिने गरिएका]मा हाल त्यसलाई कटौती गरिएको छ। तर पुनः बिदा दिई देशभर मनाइनु पर्ने माग हुन थालेको छ।
कतिपयले राष्ट्र निर्माता र राष्ट्रिय एकताको प्रतीक भएको भन्दै उनको अति प्रशंसा गर्छन् भने कतिपयले उनी साँचो अर्थमा राष्ट्रिय एकताको प्रतीक नभएको मत राख्ने गरेका छन्। संघीय सरकारले पृथ्वीजयन्तीका अवसरमा सार्वजनिक विदा नदिए पनि विभिन्न स्थानीय सरकारले भने आज सार्वजनिक विदाको घोषणा गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।