काठमाडौं– उपसभामुखबाट राजीनामा दिन अनिच्छा देखाइरहेकी शिवमाया तुम्बाहाम्फेलाई उपसभामुखबाट फिर्ता आउन सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले लिखित निर्देशन भएको छ।
शनिबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले तुम्बाहाङ्फेलाई राजीनामा गराउने निर्णय गरेको थियो। तर, उनले राजीनामा नदिने अडान राख्दै आएकी छन्। नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले यसमा ‘किन्तु, परन्तु’ भन्ने कुरा नहुने बताएका छन्।
‘धेरै हल्ला किन गर्नु?,’ ट्वीटरमा रिजालले लेखेका छन्, ‘नेकपा (एमाले)बाट समानुपातिक सांसद रहनुभएकी शिवमाया तुम्बाहाम्फेलाई नेकपाले आज उपसभामुखबाट फिर्ता आउन लिखित निर्देशन दिन्छ र उहाँले राजीनामा दिनुहुन्छ। किन्तु, परन्तु, भन्ने कुरै भएन। समानुपातिकलाई चाहेमा पार्टीले सांसदबाटै त सजिलै फिर्ता बोलाउन सक्छ।’
नेकपाले उपसभामुखको राजीनामापछि मात्र सभामुख उम्मेदवारको टुंगो लगाउने भएको छ। संविधानको प्रावधानअनुसार सभामुख र उपसभामुख फरक-फरक दलको हुनुपर्ने व्यवस्था छ।
सभामुखका लागि नेकपाबाट पम्फा भुसाल, सुवासचन्द्र नेम्बाङ, अग्नि सापकोटा, देव गुरुङलगायतको नाम चर्चामा छ। तर, नेकपाले यस विषयमा अहिलेसम्म कुनै निर्णय लिन सकेको छैन्।
सभामुख चयनमा गतिरोध जारी रहेका बेला शुक्रबार प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तुम्बाहाम्फेलाई प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर छलफल गरेका थिए। शिवमायाले ओली र प्रचण्डसमक्ष सभामुखका लागि आफ्नो योग्यताकाे सूची पेश गर्दै राजीनामा नदिने अडान राखेकी थिइन।
तत्कालीन सभामुख कृष्णबहादुर महरा बलात्कार आरोपमा थुनामा गएपछि सभामुख पद रिक्त छ। सत्ता बाँडफाटमा राष्ट्रपति तत्कालीन एमाले र सभामुख माओवादी पक्षले लिने सहमतिअनुसारै महरा सभामुख बनेका थिए।
महराको बर्हिगमनपछि तत्कालीन एमाले पक्ष त्यसमा पनि खासगरी ओली आफूले चाहेको मान्छे सभामुख हुनुपर्ने अडानमा छन्। प्रचण्ड पनि सभामुख आफूहरुलाई परेको भन्दै त्यसलाई छाड्न नसकिने अडानमा छन्।
नयाँ सभामुखका लागि प्रधानमन्त्री ओलीले पूर्व सभामुख नेम्वाङ र प्रचण्डले स्थायी कमिटी सदस्य अग्नी सापकोटालाई अघि सारेका छन्।
पूर्व माओवादी पक्ष सापकोटाका नाममा सहमति नभए अर्को नेतालाई अघि सार्न सकिने तर सभामुख छाड्न नसकिने अडानमा छ। ओली र प्रचण्डको आ–आफ्नै दाबीका कारण गत ४ पुसमा सुरु भएको प्रतिनिधिसभाको बैठक सूचना टाँस गर्दै सारिने गरिएको छ।
सभामुख कसलाई बनाउने भन्ने विषयमा नेकपाभित्रको अन्योलताकै कारण गत ११ र १६ पुसमा बोलाइएको प्रतिनिधिसभाको बैठक पनि सूचना टाँस गरी स्थगित गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।