काठमाडौं- प्रतिनिधिसभाको बैठक आइतबार दिउँसाे बस्दैछ।
दिउँसो १ बजेका लागि बोलाइएको बैठकले सभामुख निर्वाचनको कार्यतालिका गराउने तयारी भए पनि बैठक बस्नेबारे नै अन्योल छ। अन्योलका कारण बैठकको सम्भावित कार्यसूची नै बन्न सकेको छैन्।
यसअघि दुईपटकसम्म सभामुख चयन गर्ने गरी कार्यतालिका तय गरिएको थियो। तर, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सभामुखकाे उम्मेदवार टुंगो लगाउन नसकेपछि पुस ११ र १६ गते बोलाइएको संसद् बैठक सूचना टाँसेर स्थगित गरिएको थियो।
नेकपाले सभामुखकाे उम्मेदवार टुंगो लगाउन नसकेपछि सभामुख चयन प्रक्रिया नै अन्योलमा छ।
सभामुख र उपसभामुख एउटै दलको हुन नहुने संवैधानिक प्रावधान छ। बहुमतका आधारमा सभामुख नेकपाकै हुने अवस्था छ। नेकपा सचिवालयकाे हिजा बसेकाे बैठकले उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई राजीनामा गराउने निर्णय गरिसकेकाे छ। तर, उनकाे राजीनामा भने आइसकेकाे छैन।
उनकाे राजीनामा नआएकाले आजकाे बैठक उनले नै संचालन गर्ने सम्भावना छ। बैठक चले सभामुखको चुनावी प्रक्रिया उनले नै सुरु गर्नेछिन्। सभामुखको चुनावी प्रक्रिया सुरु भए संविधानको व्यवस्थाअनुसार नेकपाले सभामुखमा उम्मेदवार दिन पाउने छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।