युएई- अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा संघ (इरिना) को १० औं वार्षिक सम्मेलन संयुक्त अरब इमेरेट्सको अबुधावीमा शनिबार सुरु भएको छ।
विश्वका १ सय १० भन्दा बढी मुलुकका ऊर्जामन्त्रीहरुको सहभागिता रहेको सम्मेलनमा नेपालबाट उर्जा, जलश्रोत तथा सिञ्चाइमन्त्री वर्षमान पुन अनन्त नेतृत्वको पाँच सदस्यीय टोली सहभागी छ। यस्तै प्रतिनिधिसभाको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिका सदस्यहरु राधाकुमारी ज्ञवाली, राजबहादुर बुढा र भूमि त्रिपाठी पनि सहभागी छन्।
सम्मेलनको उदघाटनसत्रपछि आयोजित अन्तरक्रियामा बोल्दै मन्त्री पुनले नेपाल नवीकरणीय ऊर्जाको श्रोतमा धनी रहेको बताए। मन्त्री पुनले जलवायु परिवर्तनको असरका कारण जलविद्युत क्षेत्रमा नयाँ चुनौती खडा भएको चर्चा गर्दै दीर्घकालिन सोच र योजनासहित उक्त परिस्थितिको सामनाका लागि विश्व समुदायको ध्यानकर्षण गराए।
आर्थिक र प्राविधिक हिसाबले नेपालमा तत्कालै ४२ हजार मेगावाट क्षमताको जलविद्युत उत्पादन गर्न सकिने सम्भवना रहेको उनले औंल्याए। हाल १३ सय २६ मेगावाट राष्ट्रिय ग्रिडमा रहेको र २५ सय मेगावाट क्षमताका जलविद्युत आयोजनाहरु र ६ सय मेगावाट सौर्य ऊर्जा निर्माण क्रममा रहेको जानकारी दिए।
यस्तै १८ हजार मेगावाटभन्दा बढी अध्ययनका क्रममा रहेको उनको भनाइ थियो। ८८ प्रतिशत जनताको विद्युतमा पहुँच पुगेको छ र त्यसमध्ये करिब १० प्रतिशत योगदान नवीकरणीय उर्जा (साना जलविद्युत आयोजना, सोलार) बाट भएको उल्लेख गरे।
उनले नवीकरणीय ऊर्जाको क्षेत्रमा इरिनाको अर्थपूर्ण सहयोगको अपेक्षा गर्दै थप लगानी , शुलभ र पहुँचयोग्य प्रविधिमा विशेष ध्यान दिन इरिनालाई विशेष आग्रहसमेत गरे।
सम्मेलन प्रभावकारी र नतिजाउन्मुख योजना बनाउन तथा बजेट तय गर्न सक्षम हुने विश्वास व्यक्त गर्दै मन्त्री पुनले सम्मेलन पूर्ण सफलताको कामना गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।