काठमाडौं- विवेकशील नेपाली दलले प्रदेश ३ को राजधानी हेटौंडामा असहमति राखेपछि प्रदेश ३ को राजधानी सर्वसम्मत नहुने भएको छ।
प्रदेश राजधानीको मुकाम काभ्रेको धुलिखेल बनाउन विवेकशीलले प्रस्ताव संसदमा दर्ता गरेको छ। विवेकशीलको प्रस्तावलाई साझा पार्टीका प्रदेश सांसदले समर्थन गरेकी छन्।
प्रदेश ३ मा विवेकशीलका दुई र साझाका १ प्रदेश सभा सदस्य छन्। विवेकशीलले राखेको प्रस्तावको समर्थन विराजभक्त श्रेष्ठ र शोभा शाक्यले गरेका हुन्। शाक्य साझा पार्टीको प्रदेश सभा सदस्य हुन्।
प्रस्ताव फिर्ता नहुने विवेकशीलका अध्यक्ष मीलन पाण्डेयले जानकारी गराए। उनले भने, ‘धुलिखेलका लागि हाम्रो अडान पुरानै हो। फिर्ता लिने भए प्रस्ताव दर्ता नै गर्ने थिएनौं। प्रदेशको नाम वाग्मती हाम्रै प्रस्तावअनुसार आएकाले समर्थन गर्यौं।’
विवेकशीलले राजधानीको नाममा समर्थन गरेको छ। कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाँले राखेको वाग्मती नाममा विवेकशीलका प्रदेश सदस्य रमेश पौडेलले समर्थन गरेका छन्।
सत्तारुढ दल नेकपा, प्रमुख प्रतिपक्ष दल कांग्रेस, राप्रपा र राप्रपा (संयुक्त)ले हेटौंडा प्रदेश ३ को राजधानी र नाम वाग्मती राख्ने निर्णय गरिसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।